काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिगत आन्दोलनमा रहेका विप्लव पनि अन्तत: नेकपामा जोडिने दाबी गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)बाट सत्तारुढ नेकपामा प्रवेश गरेका मोहन कार्कीलाई स्वागत गर्ने क्रममा प्रचण्डले सानातिनाे चुलौचोको राख्न जरुरी नभएको बताए। मूलधारमा प्रवेश गर्न आग्रह गर्दै उनले भने, ‘स्वयं विप्लव पनि ढिलोचाडो नेकपामा जोडिनुहुन्छ। चुलोचौको राखेर केहि फाइदा हुन्न भने थाहा छ।’
विप्लव नेकपाले लिएको बाटोले फाइदा नगर्ने दाबी गर्दै उनले अप्ठ्यारो नमानिकन नेकपामा प्रवेश गर्न आग्रह गरे। उनले देशलाई हानी नगरिकन मूलधारमा प्रवेश गर्न समेत विप्लवलाई अनुरोध गरे। सबै कम्युनिस्टको मार्ग निर्देशक सिद्धान्त समाजवाद भएकाले त्यसको मोडेलमा बहस गर्न भने सकिने उनले बताए।
तेश्रो महाधिवेशनसम्म नेपालका कम्युनिस्टहरुमा एकता रहेपनि विसं २०१९ पछि छिन्नभिन्न हुने क्रम सुरु भएकाे उनले स्मरण गरे। पूर्व एमाले र माओवादी केन्द्रको एकताले कम्युनिस्टहरु एकै स्थानमा उभिने क्रम सुरु भएकाे उनकाे भनाइ छ।
वैचारिक विवादले संसारभर कम्युनिस्ट विभाजित भएको सुनाउँदै उनले कम्युनिस्ट पार्टीमा विभाजन आउनुमा आन्तरिक र वाह्य कारण रहेको औंल्याए। शनिबार नेकपामा प्रवेश गरेका कार्कीलाई युद्धकालमा पूर्व माओवादीले उपत्यकामा खटाएको थियो।
माओवादी नेता र अन्य दलका नेतालाई सम्पर्क व्यक्तिका रुपमा समेत उनले कार्य गरेका थिए। पछिल्लो समय कार्की विप्लव समूहमा पाेलिटब्यूराे सदस्य थिए। २०७५ चैतमा पक्राउ परेका उनी गत साउनमा रिहा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।