जनकपुर- राष्ट्रियसभाको माघ ९ गते हुने निर्वाचनका लागि प्रदेश नम्बर २ मा उम्मेदवारहरुलाई शुक्रबार चूनाव चिह्न प्रदान गरिएको छ।
प्रदेश २ मा राष्ट्रियसभाको ४ सीटका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी (राजपा), नेपाली कांग्रेस र समाजवादी पार्टी गरी ४ पार्टीका आठ जना उम्मेदवारहरुले चूनाव चिह्न पाएका छन्। चूनाव चिह्न पाउनेहरुमा खुल्लातर्फ समाजवादी पार्टीका अनिरुद्धप्रसाद सिंह यादवले पाँच औंंला सहितको हत्केला र राजपाबाट मृगेन्द्रप्रसाद सिंह यादवले ढल्केको छाता चूनाव चिह्न पाएका छन्।
त्यस्तै महिलामा नेकपाबाट तुलसाकुमारी दाहालले सूर्य र नेपाली कांग्रेसबाट नगिना यादवले रुख चुनाव चिह्न पाएका हुन् भने दलितमा समाजवादी पार्टीबाट रामपृत पासवानलाई पाँच औंंलासहितको हत्केलाको चुनाव चिह्न दिइएको छ। यसअघि पनि पासवान सोही पार्टीबाट राष्ट्रिय सभा सदस्य थिए। उनलाई पार्टीले फेरि अवसर दिएको छ।
नेकपाबाट दलित कोटामै राधेश्याम पासवानले सूर्य छापको चुनाव चिह्न पाए। अपाङ्ग तथा अल्पसंख्यकमा नेपाली कांग्रेसबाट भोला पजियारले रुख र राजपाबाट शेखर सिंहले ढल्केको छाता चुनाव चिह्न पाएको निर्वाचन अधिकृत कार्यालय धनुषाकी सहायक निर्वाचन अधिकृत पुष्पा झाले बताइन्।
फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९, नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना सदस्य छन्। राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन्।
नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ। संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक २ वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।