काठमाडौं- प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्का अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माणका कार्यप्रगति सन्तोषजनक भएको र देखिएका समस्याहरुलाई समाधान गर्दै बाँकी काम छिटो गर्न प्राधिकरणलाई सुझाव दिएका छन्।
प्रधानमन्त्री ओलीले पुनर्निर्माण कार्य राम्रो गतिमा अघि बढेको र नेपालको पुनर्निर्माण तथा विपद्को क्षेत्रमा काम गरेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरुले आफूसँगको भेटमा पुनर्निर्माणमा नेपालले हासिल गरेको प्रगति उल्लेखनीय र अनुकरणीय भनेको जानकारी दिए।
उनले समस्या र जटिलताहरुलाई समाधान गर्दै पुनर्निर्माण कार्य अघि बढेको बताउँदै पुनर्निर्माणलाई अझ प्रभावकारी रुपमा अघि बढाउन नीतिगत र व्यवहारिक पक्षमा सुधार गर्न, काम गर्ने तरिकामा सुधार गर्न, सामाजिक जागरण बढाउन, संगठित संस्थाहरुलाई परिचालन गर्न, स्थानीय र प्राविधिकहरुलाई अझ सक्रिय पार्न सुझाव समेत दिए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले पुनर्निर्माण कार्य सन्तोषजनक रुपमा अघि बढेको निश्कर्ष निकाल्दै बाँकी काम छिटो सक्ने गरी गति प्रदान गर्न सुझाव दिएको हाे।
साे बैठकमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, परामर्श परिषद्का उपाध्यक्ष विजयकुमार गच्छदार, मन्त्रीहरुलगायत उपस्थित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।