काठमाडौं- नेपालका उदीयमान खेलाडी प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको दुई विधामा फाइनल प्रवेश गरेका छन्। दाहाल पुरुष एकल र जोडी दुबैतर्फ फाइनल प्रवेश गरेका हुन्।
प्रतियोगितामा दोस्रो वरियता प्राप्त तथा विश्व जुनियर वरियतामा १४ औं स्थानमा रहेका दाहाल सेमिफाइनलमा भारतका अभिन बशिष्ठलाई २१–१८, २०–२२ र २१–१७ को सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।
अब प्रिन्सले उपाधिका लागि यस प्रतियोगिताका पहिलो वरियता तथा विश्व जुनियर वरियतामा तेस्रो स्थानमा रहेका भारतका मिरबा लुवाङसँग प्रतिस्पर्धा गर्नेछन्। लुवाङले श्रीलंकाका दुमिन्दु अबेविक्रमालाई २१–१२ र २१–८ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए।
दाहाल पुरुष युगलमा पनि फाइनल प्रवेश गर्न सफल भएका छन्। पेम्बा शेर्पासँग मिलेर दाहालले आफ्नै देशका अमृत चौधरी र जेबी साउदलाई २१–१० र २१–११ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
यसै स्पर्धामा भारतका आर विकास प्रभु र अरुण कार्थिकको जोडीले श्रीलंकाका दुमिन्दु अबेविक्रमा र दिगायु कहातापितियाको जोडीलाई २२–२० र २१–१५ को सेटमा हराउँदै दाहाल र शेर्पाको जोडीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

महिला जोडीतर्फ नेपालका विष्णा बिष्ट र प्रसुना खत्रीको जोडीले नेपालकै रोन पाण्डे र अलिना सुनारबाट वाक ओभर प्राप्त गरे। बिष्ट र खत्रीको जोडीले फाइनलमा भारतका ग्नन्दा के र सानिया सिकन्दरको जोडीसँग प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगिताका फाइनल खेलहरु शनिबार दिउँसो १ बजेदेखि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।