काठमाडौं- जिल्ला अदालत सल्यानले दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्याकाण्डको फैसलाविरुद्ध पीडित परिवारले उच्च अदालत जाने बताएका छन्। श्रेष्ठकी श्रीमती निर्मलाले जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै उच्च अदालत जाने तयारी रहेको बताइन्।
हत्या आरोपमा पक्राउ परेकामध्ये मूख्य योजनाकारलाई जन्मकैद, अन्य ७ जनालाई फरक-फरक वर्षको कैद र तीन जनालाई रिहा गर्ने फैसला गरेको थियो। यसबारे निर्मलाले भनिन्, ‘दोषी हुन् भनिएका व्यक्ति नै छुटेका छन्। प्रमाण नपुगेर छुटेको भन्ने सुनेको छु। प्रमाण खोज्ने काम हाम्रो होइन। यस्तो फैसलालाई हामीलाई थप पीडा भएको छ। हामी उच्च अदालत जाने तयारीमा छौं।’ हत्या हुनभन्दा केही समयअघि आफूहरुको ठूलो रकम चोरी भएको र उक्त रकम चोरी भएको आरोपमा अहिले धरौटीमा रिहा भएका विरुद्धसमेत किटानी जाहेरी दिइएको उनको भनाइ छ।
पछि त्यही रिसइबीमा हत्या भएको तर उनीहरुले सफाइ पाएको उनको आरोप छ। जिल्ला अदालत सल्यानका श्रेस्तेदार दीपक पोरखेलका अनुसार श्रेष्ठ हत्याका मुख्य योजनाकार तुलसीपुर-६ का टिकाराम घर्तीलाई ज्यान मार्ने उद्योगमा जन्मकैद र अपहरण मुद्दामा १० वर्षको कैदको फैसला सुनाइएको छ।
अविरल महतारालाई ज्यान मार्ने उद्योगमा ५ र अपहरणमा ११ वर्ष गरी १६ वर्ष कैद ५० हजार रुपैयाँ जरिवाना सुनाइएको छ।
मानबहादुर भण्डारी, मनबहादुर पुन, नारायण वली र रुगत थापालाई ज्यान मार्ने उद्योगमा ५ वर्ष र अपरहणमा १० वर्ष गरी १५ वर्ष कैद र ५० हजार रुपैयाँ फैसला सुनाइएको छ। मुख्य योजनाकार टिकारामकी पूजालाई अपहरण मुद्दामा १० वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ।
अपहरण मुद्दामै बीरे घर्तीलाई ७ वर्ष कैद सजाय फैसला जिल्ला अदालतले गरेको छ। अपहरण र हत्याको आशंकामा पक्राउ परेका मध्ये भुपेन्द्र भण्डारी, खुमबहादुर केसी र जमा पुनलाई अदालतले सफाइ दिएको छ।
घटनामा १४ जनाको संलग्नता रहेको बताए पनि त्यसबेला ११ जनामात्रै पक्राउ परेका थिए। लोकेन्द्रराज शाही, जयप्रकाश डाँगी भनिने पूर्णबहादुर वली र नरबहादुर वली भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।
२०७४ जेठ २६ गते साँझ १८ वर्षीय युवती पूजालाई प्रयोग गरेर ‘हनी ट्रयाप’शैलीमा तुलसीपुरबाट व्यापारी श्रेष्ठको अपहरण भएको थियो। अपहरण गरेको तीन महिनापछि श्रेष्ठको शव सल्यानको छत्रेश्वरी–४ झिम्पे भन्ज्याङमा फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।