काठमाडौं– सभामुख चयनमा गतिरोध जारी रहेका बेला उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षसँग छलफल गरेकी छिन्।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार उपसभामुख तुम्बाहाम्फेलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर छलफल गरेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अहिले कार्यवाहक सभामुखको समेत जिम्मेवारी सम्हालेकी तुम्बाहाम्फेले संसद सञ्चालनबारे दुई अध्यक्षसँग छलफल गरेको बताए।
तर, तुम्बाहाम्फेले ओली र प्रचण्डसँग भेट गरेको अस्वीकार गरिन्। उनले भनिन् ‘उहाँहरुलाई भेट्न म बालुवाटार गएकी छैन।’ २७ गतेको संसद चल्ने बताउँदै उनले यसबारे खासै खुल्न चाहिनन्।
तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा थुनामा गएपछि सभामुख पद रिक्त छ। सत्ता बाँडफाटमा राष्ट्रपति तत्कालीन एमाले र सभामुख माओवादी पक्षले लिने सहमतिअनुसारै महरा सभामुख बनेका थिए।
महराको बर्हिगमनपछि तत्कालीन एमाले पक्ष त्यसमा पनि खासगरि नेकपा अध्यक्ष केपी शर्मा ओली आफूले चाहेको मान्छे सभामुख हुनुपर्ने अडानमा छन्। नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सभामुख आफूहरुलाई परेको भन्दै त्यसलाई छाड्न नसकिने अडानमा छन्। नयाँ सभामुखका लागि प्रधानमन्त्री ओलीले पूर्व सभामुख सुवास नेम्वाङ र प्रचण्डले स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई अघि सारेका छन्।
पूर्व माओवादी पक्ष सापकोटाका नाममा सहमति नभए अर्को नेतालाई अघि सार्न सकिने तर सभामुख छाड्न नसकिने अडानमा छ। ओली र प्रचण्डको आ–आफ्नै दावीका कारण गत ४ पुसमा सुरु भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गर्दै सारिने गरिएको छ।
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्रको अन्योलताकै कारण गत ११ र १६ पुसमा बोलाइएको प्रतिनिधिसभाको बैठक पनि सूचना टाँस गरी स्थगित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।