काठमाडौं- नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
शुक्रबार सम्पन्न खेलमा प्रदेश २ लाई ४६ रनले पराजित गर्दै पुलिस समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। यसअघि नै प्रदेश नम्बर ३ र आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
पुलिसले दिएको १८४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नम्बर २ ले ४२.२ ओभरमा सबै विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो। प्रदेश २ का लागि विशाल सुश्लिङले सर्वाधिक ८० रन बनाए। उनले १ सय १२ बलमा ८ चौका र ५ छक्का प्रहार गरे। हरि शंकर शाहले १८ तथा हसिम अन्सारीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।
पुलिसका लागि दिपेन्द्रसिहं ऐरी र ललित भण्डारीले समान ३–३ विकेट लिए। पवन सर्राफले २ तथा सागर ढकाल र ललित नारायण राजवंशीले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४८.१ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनाएको थियो। पुलिसका लागि दिपेन्द्रले सर्वाधिक ५० रन बनाए। ऐरीले ६४ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अमित श्रेष्ठले ३७, अनिल साहले १९ तथा राशिद खानले १६ रन बनाए।
प्रदेश २ का लागि कुमार थापाले सर्वाधिक ५ विकेट लिए। त्यस्तै, राहुल प्रताप सिंह र विवेक यादवले समान २–२ विकेट लिए।
प्रतियोगिता अन्तर्गत समूह ‘डी’ का खेलहरु शनिबारबाट सुरु हुनेछ । शनिबार मलेसिया-११ टिम र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
.JPG)



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।