काठमाडौं- विदेशबाट पार्सल पठाएको भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा नाइजेरियन र आइबेरिकोस्टका २ जना गरी ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट सिआइबीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा राहदानी नम्बर ए ०९०३९०७२ बाहक नाजेरियाका ४० वर्षीय क्यारिल किनोन्सो इबिच, राहदानी नम्बर १७एपि४१८७१ बाहक आइबेरिकोष्टका २३ वर्षीय आसेप डेजी पिरेरजन, काठमाडौं खुशीबु बस्ने चितवन गुञ्जनगर-६ घर भएका ४० वर्षीय रामचन्द्र गैह्रे, काठमाडौं महानगरपालिका-२६ ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र काठमाडौं वनस्थली बस्ने चितवन कालिकानगर नगरपालिका-७ घर भएका ३१ वर्षीय हरि ओझा रहेका छन्।
सामाजिक सञ्जालमार्फत विदेशी नागरिकहरुको नाममा अकाउन्ट खोल्ने र नेपालका विभिन्न व्यक्तिहरुलाई साथी बनाई ठगी गर्ने गरेको पाइएको छ। विभिन्न बहुमूल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलरसमेत भएको पार्सल पठाइदिन्छु भन्दै उनीहरुले सामानको फोटोसमेत पठाई प्रलोभनमा पार्ने गरेका थिए। त्यसपछि पार्सल लिएर मेरो मान्छे नेपालमा आउँदैछ र सो सामानहरु लिनु भन्ने गरेका थिए।
नेपालमा भएको सम्पर्क ९८०३८०४... नम्बरबाट विदेशी नागरिकले फोन गरी तपाईंको सामान मैले लिएर आएको थिएँ, एयरपोर्टमा एक्सरे मिसिनबाट हेर्दा डलरसमेत रहेछ भन्दै सामान छुटाउनको लागि रकम माग गर्ने गरेका थिए।
त्यसपछि सामान आएछ भनेर भ्रममा परेकाहरुले नेपालमा रहेका विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा गरिदिने गरेका थिए।
पक्राउ परेका सबैलाई ठगी मुद्दामा म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।