नयाँ दिल्ली– भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह ध्वनीलाई पद्मभूषण सम्मान प्रदान गरिएको छ। सोमबार भारतका राष्ट्रपति राम नाथ कोविदले राष्ट्रपति निवासमा भएको एक विशेष समारोहका बीच ध्वनीलाई पद्मभूषण सम्मान प्रदान गरेका हुन्।
पद्मभूषण सम्मान भारत रत्न तथा पद्मविभूषणपछिको भारतको तेस्रो उच्च दर्जाको नागरिक सम्मान हो।

सम्मान ग्रहण गर्दा पूर्वकप्तान ध्वनी भारतीय सेनाको लेफ्टिनेन्ट कर्नेलको युनिफर्ममा राष्ट्रपति निवासमा सरिक भएका थिए। सम्मानका लागि नाम घोषणा हुने बित्तिकै उनी सेनाको जस्तै हिँडाइमा राष्ट्रपति कोविद नजिक पुगेका थिए।
सन् २०११ को विश्वकप क्रिकेटको उपाधि ध्वनीले आफ्नो नेतृत्वमा भारतका लागि दिलाएको भन्दै उनलाई भारतीय आर्मीले सोहि वर्षको नोभेम्बर १ मा लेफ्टिनेन्ट कर्नेलको दर्जा प्रदान गरेको थियो। अप्रिल २, २०११ मा ध्वनीले विश्वकप क्रिकेटको उपाधि थापेपछि यती ठूलो सम्मान थापेको यो पहिलो अवसर हो।

भारतीय क्रिकेटका लागि सफल कप्तान मानिने ध्वनीको कप्तानीमा नै २८ वर्षपछि भारतले आफ्नै भुमिमा दोस्रो पटक विश्वकप जितेको थियो।
३७ वर्षीय ध्वनी यो सम्मान पाउने पूर्व कप्तान कपिलदेव पछिका दोस्रो भारतीय क्रिकेटर हुन्। यसअघि उनले सन् २००८ र २००९ मा दुई पटकसम्म लगातार आइसिसी प्लेयर अफ दि इयरको अवार्ड प्राप्त गरेका थिए। त्यस्तै राजिव गान्धी खेल रत्न अवार्ड–२००७ र भारतको चौथो दर्जाको पद्मश्री सम्मान–२००९ बाट समेत उनी सम्मानित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।