नयाँ दिल्ली– भारतीय धर्मगुरु कौसलेन्द्र फलाहारी महाराज बलात्कारको आरोपमा पक्राउ परेका छन्। राजस्थानस्थित अलवर आश्रममा २१ वर्षीया एक छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।
भारतीय सञ्चारमाध्यमले बलात्कृत छात्रा कानुनकी विद्यार्थी भएको बताएको छ।
फलाहारी महाराजको अरोप पुष्टी भए उनलाई १० वर्षसम्म कैद सजाय हुनेछ। भारतीय अदालतले गत महिना विवादास्पद भारतीय गुरु गुरमित राम रहिम सिंहलाई दुई महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको थियो। अदालतले उनीमाथि २० वर्ष जेलसजाय तोकिसकेको छ।
फलाहारी महाराज शनिबार पक्राउ परेका हुन्।
जयपुरमा कानुन अध्ययनरत छात्राले सेप्टेम्बर ११ मा फलाहारीविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन्।
आफ्ना आमाबाबुको आग्रहमा अलवरस्थित आश्रममा रकम दान गर्न गएको र त्यस दिन आश्रममा बस्ने अनुरोध स्विकारेर बसेको रात नै फलाहारीले बलात्कार गरेको उनले बयानका क्रममा बताएकी थिइन्।
छात्राले बलात्कार सार्वजनिक नगर्न र उजुरी नदिन आफूलाई धम्कीसमेत दिएको बताएकी छन् ।
तर राम रहिम सिंहलाई अदालतले दोषी ठहर गरी सजाय सुनाएपछि फलाहारीविरुद्ध उजुरी गर्न आफूलाई आँट आएको पनि ती छात्राले बताएकी छन् ।
राम रहिम पक्राउ र दोषी ठहरिएको फैसलाविरुद्ध भएको प्रदर्शन तथा हिंसामा ३८ जनाको मृत्यु हुनुका साथै २ हजारभन्दा बढी पक्राउ परेका थिए।
फलाहारीका पनि भारत र विदेशमा धेरै अनुयायी रहेको बताइन्छ। बलात्कृत छात्राका परिवारसमेत उनको अनुयायी हुन् । छात्राको परिवारले केही वर्षयता फलाहारीको आश्रमलाई अनेकौंपल्ट नगद दान गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।