बुटवल- थ्रीस्टार क्लबले तेस्रो अन्तर्राष्ट्रिय मदनभण्डारी गोल्डकपको उपाधि उचालेको छ। सोमबार भएको फाइनलमा मनाङ मस्याङ्दी क्लबलाई २—१ गोल अन्तरले हराउँदै थ्रीस्टार च्याम्पियन बनेको हो। उपाधिसँगै थ्रीस्टारले १५ लाख र मनाङले ७ लाख ५० हजार रुपैयाँ पाएका छन्।
सेमिफाइनलमा पुग्ने आयोजक मदन भण्डारी स्पोर्टिङ एकेडेमी र बुटवलको सुनौलो संगम युवा क्लबले नगद १ लाख पुरस्कार प्राप्त गरेका छन् ।
यसअघि थ्रीस्टारले चैत पहिलो साता बुटवलमा सम्पन्न तिलोत्तमा गोल्डकपको उपाधि पनि चुमेको थियो।
बुटवल रामनगर खेलमैदानमा सोमबार भएको फाइइनल भिडन्तमा मनाङका विशाल रानाले दोस्रो मिनेटमै गोल गरेका थिए। तर दोस्रो हाफमा थ्रीस्टारका अनन्त तामाङले गोल गरेपछि खेल बराबारीमा पुग्यो। सुनिल बलको पासमा तामाङले ६९ औं मिनेटमा गोल गरेका थिए। दोस्रो हाफमा दुवै टिम आक्रामक रुपमा उत्रेका थिए। मार्टिनले खेलको ८२ औं मिनेटमा गरेको गोल नै थ्रीस्टारको जितका लागि निर्णाय बन्यो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी मनाङका बनेका अन्जन विष्टले नगद ५० हजार सहित पुरस्कृत भए। विष्ट सर्वाधिक गोलकर्ता हुँदै नगद १० हजारबाट पनि पुरस्कृत भए। यसैगरि उत्कृृष्ट गोलरक्षक थ्रीस्टारका पिटर, उत्कृष्ट मिडफिल्डरबाट थ्रीस्टारकै निराजन खड्क र उत्कृष्ट फरवार्डबाट थ्रीस्टारकै अजयी मार्टिन पुरस्कृत भए। यसैगरि उत्कृष्ट गोलकिपरबाट मदन भण्डारीका बिनायक श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकका रुपमा थ्रीस्टारका प्रशिक्षक मेघराज केसी पुरस्कृत भएका छन्। विधागत रुपमा उत्कृष्ट भएका खेलाडीलाई नगद १५ हजार सहित कप प्राप्त गरे।
विजयी टिमलाई प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पुरस्कार वितरण गरेका थि । सो अवसरमा बोल्दै उनले प्रदेश नम्बर ५ लाई खेल क्षेत्रको रुपमा चिनाउनका लागि खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।