काठमाडौं– निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमितिको बैठक आगामी चैत २४ गते बस्ने भएको छ। काठमाडौंमा बस्ने बैठकको मुख्य एजेन्डा आगामी वैशाख ६ र ७ गतेका लागि प्रस्ताव गरिएको विशेष साधारण सभाको मिति तोक्ने रहेको छ।
क्यानका अनुसार कार्यसमितिको बैठकमा विधान संशोधनका सन्दर्भमा जिल्लाबाट उठेका विभिन्न जिज्ञासाबारे पनि छलफल हुने छ।
यसअघि गत माघमा नेपाल आएको आइसिसीका प्रतिनिधि मण्डलसँग विशेष साधारणबाट क्यानको विधान पारित गरेर अघि बढ्ने सहमति भएको थियो। नेपाल क्रिकेट विवाद समाधानका लागि मार्चसम्म निर्वाचन सकिने आइसिसी जनाएको थियो। तर विधान संशोधनका लागि ढिलाइ हुँदा केन्द्रिय समितिको निर्वाचन हुन ढिलाइ भएको छ।
अब वैशाखमा हुने साधारण सभाले सल्लाहकार समितिले बनाएको पुरानै विधान पारित गर्नेछ। त्यसपछि निर्वाचनका लागि मोनिटरिङ समिति बन्नेछ। समितिमा ३ जना आइसिसीका सदस्य हुनेछन् भने निर्वाचित क्यान र परिषद्का १–१ जना सदस्य रहनेछन्।
यसअघि निर्वाचन भइसकेका जिल्लालाई मान्यता दिने बताइएको छ। विवाद र उजुरी परेका जिल्लामा भने मोनिटरिङ समितिले छानविन हुनेछ। विवादित जिल्लामा समितिले मान्यता दिन वा फेरि निर्वाचन गर्न निर्देशन दिन सक्नेछ।
त्यसपछि प्रदेश र केन्द्रिय समितिको निर्वाचन हुनेछ। केन्द्रिय समितिको भएपछि आगामी जुनमा बस्ने आइसिसीको बैठकमा क्यानमाथि लगाएको निलम्बनको विषयमा प्रस्ताव पेश हुनेछ। निलम्बनको विषयमा आइसिसी बैठकमा प्रस्ताव लैजानका लागि जुन अघि क्यानको केन्द्रिय समितिको निर्वाचन हुनु पर्नेछ।
यसअघि सल्लाहकार समितिले बनाएको विधान क्यानको विशेष साधारण सभाले संशोधनसहित गत साउनमा पारित गरेको थियो। खेलकुद परिषदले क्यानको संशोधित विधानलाई स्विकृति प्रदान समेत प्रदान गरेको थियो।
संसोधित विधानअनुसार ८ कात्तिकभित्र जिल्ला क्रिकेट संघको निर्वाचन भएको थियो। तर ८ मंसिरसम्म गर्नु पर्ने प्रदेश संघ निर्वाचन भने नगर्न आइसिसीले क्यानलाई पत्राचार गरेको थियो। त्यसपछि आइसिसीका प्रतिनिधि काठमाडौंमा आएर सल्लाहकार समितिले बनाएको विधान हुबसु पास गरेर अघि बढ्ने सहमति गरेका थिए।
अन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले क्यानलाई ०७३ बैशाखमा निलम्बन गरेको थियो । त्यसपछि आइसिसीले नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।