काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा टिम चौराहा धनगढीले पहिलो जित हात पारेको छ। धनगढीले सोमबार भएको खेलमा सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको छ।
अत्तरियाले दिएको १ सय ५१ रनको लक्ष्य धनगढीले ७ विकेटको क्षतिमा ४ बल बाँकी छदा पार गर्यो। धनगढीका लागि कप्तान सोमपाल कामीले विस्फोटक ब्याटिङ गरे । उनले नआउट ३९ रन जोडे। १५ बल खेलेका सोमपालले समान ३–३ चौका र छक्का हिर्काए। त्यसअघि रोहान मुस्ताफाले ४० रनको योगदान दिएका थिए। उनले ४२ बलमा ३ चौका हिर्काए। राजेश पुलामीमगरले १९ बलमा २१ रन जोडे।
१७ ओभरमा मुस्ताफा आउट भएपछि धनगढीमाथि दबाब थपिएको थियो। मुस्ताफा युएईका कप्तान हुन्। जितका लागि धनगढीलाई १८ बलमा ३८ रन चाहिएको थियो। कप्तान सोमपालले १८ ओभरमा २ छक्का र १ चौका प्रहार गरेका थिए। १९ ओभरमा उनले १ चौका र १ छक्का प्रहार गरेपछि खेल धनगढीको पक्षमा आएको थियो।
धनगढीका ओपनरद्वय सुनील धमला ६ र अस्फाक अहमद १० रनमा आउट भएका थिए। लगत्तै शंकर राना ७ र राजु रिजाल १० रनमा आउट भएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५१ रन जोड्यो। अत्तरियाको लागि प्रेम तामाङले २८ रन जोडे। २९ बल खेलेका उनले २ छक्का प्रहार गरे। ओपनर तथा कप्तान सुवास खकुरेल १३ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरीले १९ रन जोड्दा गौरव चितकारा १३ रनमा आउट भए। विपन चन्द्रले नटआउट २८ रनको योगदान गरे। उनले २० बलमा १ चौका र १ छक्का प्रहार गरे। कुशल भुर्तेलले १८ बलमा २५ तथा कृष्ण कार्कीले ८ बलमा १४ रनको योगदान गरे।

बलिङतर्फ धनगढीका ललितसिंह भण्डारीले ३ विकेट लिए। रोहान मुस्ताफाले २ विकेट लिन सफल भए। सांसद शेख र सोमपाल कामीले १–१ विकेट लिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।