लन्डन– इंग्लिस क्लब टोटनह्यामले चेल्सीको घरेलु मैदानमा २८ वर्षपछि जित हात पारेको छ।
आइतबार भएको इंग्लिस प्रिमियर लिगअन्तर्गतको खेलमा टोटनह्यामले चेल्सीलाई ३–१ गोलले पराजित गरेको हो। टोटनह्यामको जितमा एरिक्सनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दा डेल अलीले २ गोल गरे। अलीले खेलको ६२ र ६६ मिनेटमा गोल गरेका थिए। त्यसअघि चेल्सीले पहिले अग्रता लिएको थियो। अल्भारो मोराटाले ३० मिनेटमा गोल गरेर चेल्सीलाई पहिले अग्रता दिलाएका थिए।
टोटनह्यामले सन् १९९० पछि पहिलो पटक चेल्सीलाई उसैको घरेलु मैदानमा पराजित गरेको हो। सन् १९९० को फेब्रुअरीमा टोटनह्यामले चेल्सीको घरेलु मैदानमा २–१ ले पराजित गरेको थियो। त्यसयता टोटनह्यामले चेल्सीको घरेलु मैदानमा २७ खेल खेलेको थियो। जसमध्ये १८ खेल हर्दा ९ खेल बराबरीमा सकिएका थिए। २८ औं खेलमा भने टोटनह्यामले जित निकाल्न सफल भयो।
लिगको अर्को खेलमा आर्सनलले स्कोटलाई ३–० गोलले पराजित गरेको छ।
लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३१ खेलबाट ८४ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ६८ अंक छ। एक खेल बढी खेलेको तेस्रो स्थानको लिभरपुलको ६६ अंक छ। चौथो स्थानको टोटनह्यामको ३१ खेलबाट ६४ र पाँचौ स्थानको चेल्सीको ५६ अंक छ। आर्सनल ५१ अंक जोड्दै छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।