हेटौंडा- प्रदेश ३ को प्रदेशसभा बैठकमा राजधानी र नामाकरणका विषयमा अध्ययन गर्न गठित विशेष अध्ययन समितिको प्रतिवेदनमाथिको छलफल सुरु भएको छ।
समिति सभापति दीपक निरौलाले प्रदेशसभामा पेश गरेको प्रतिवेदनमाथि समिति सदस्यहरुले आफ्नो धारणा राखेका हुन्।
सांसद शशीजंग थापाले भक्तपुर राजधानी तोक्न माग गरेकी छन्। प्रदेशभित्रका १३ जिल्लाको आकर्षणको केन्द्र भक्तपुर भएकाले पनि राजधानी तोकिनुपर्ने उनको भनाइ छ।
भक्तपुरमा शिक्षा विभाग र सो अन्तर्गत रहेका कार्यालय रहेको २ सय रोपनी जग्गा खाली हुने भएकाले प्रदेशका सम्पूर्ण कार्यालय राख्न प्रयाप्त जग्गा भएको, मध्यपुर ठिमीमा रहेका कृषि तालिम केन्द्रको रहेको भवन सचिवालय तथा सभाहलका लागि प्रयोग गर्न सकिने, अरनीको राजमार्गबाट नजिकको दुरीमा रहेको र केन्द्रीय मन्त्रालयहरु समेत नजिक रहेकाले भक्तपुर उपयुक्त हुने उनले भनाइ थियो।
सांसद बलराम पौडेलले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हेटौंडाको इतिहास र दिर्घकालीन सोच राखेर अस्थायी राजधानी तोको स्मरण गराए। महत्वपूर्ण आर्थिक नाका वीरगञ्ज भन्सार नजिक पर्ने, क्षेत्रीय कार्यालयहरु हेटौंडामा रहेको, पूर्व पश्चिम राजमार्गको मेरुदण्ड भएकाले पनि राजधानीका लागि हेटौंडा उपयुक्त हुने उनको भनाइ थियो।
सांसद रत्नप्रसाद ढकालले भौगोलिक, सामाजिक र सांस्कृतिक आधारमा काभ्रे उपयुक्त हुने धारणा राखे। प्रदेशको नाम राख्ने विषयमा धेरै विवाद बहस भइरहेको सन्दर्भमा पहिचानको आधारमा नामाकरण हुनुपर्ने उनको भनाइ छ। पहिचानको मुद्दा उठाएर हजारौँले बलिदान दिएको भन्दै उनले प्रतिवेदन राम्रोसँग अध्ययन गरी निर्णय गर्न पनि आग्रह गरे।
त्यसैगरी सांसद विशाल खड्काले प्रतिवेदनमा उल्लेख भएका विषय अध्ययन गर्न आग्रह गर्दै आगामी पुस्ताले गाली गर्ने गरी निर्णय गर्नुभन्दा सबैलाई जवाफ दिन सक्ने गरी निर्णय गर्न सबैलाई आग्रह गरे। 'भोलिसम्मको पुस्तालाई सहज ढंगले अगाडि बढाउने गरी राजधानी तोकिनुपर्छ,' उनले भने।
सांसद नरोत्तम वैद्यले अध्ययन समितिले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा राजधानी तोक्ने नसकिने बताए। समितिले किटानी गरी राजधानी राख्न उपयुक्त ठाउँ तोक्नुपर्ने भए पनि कार्यदलले त्यो नगरेको भन्दै उनले आक्रोश व्यक्त गरे। भक्तपुरमा राजधानी राख्दा संघीय सरकारले काम गर्न नदिने भन्दै उनले सबै हिसाबबाट काभ्रे उपयुक्त हुने धारणा राखे।
‘भक्तपुरमा राख्दा दिल्लीको केजरीवालको जस्तो हुन्छ। संघीय सरकारले काम गर्न दिँदैन। हरेक हिसाबबाट पायक पर्ने काभ्रे हो। प्रतिवेदनको हिसाबबाट मकवानपुर त लास्टमा छ। परीक्षामा १०० नम्बर आउने पास कि ३० आउने पास हुन्छ? मकवानपुर लास्ट छ। तर सिफारिस गर्नुपर्छ भन्छ,' उनले भने।
सांसद पुकार महर्जनले नेकपा सचिवालयले राजधानी र नामका विषयमा गरेको निर्देशन संविधानको भावना विपरीत भएको बताए। प्रदेशसभाको सपथ लिएको २ वर्षसम्म पनि निर्णय गर्न नसक्दा सचिवालयलाई जिममेवारी दिनुले देशमा संघीयता लागु भए पनि नेताहरुको सोचमा परिवर्तन हुन नसकेको भान हुने गरेको उनको भनाइ छ।
सांसद हीरानाथ खतिवडाले नुवाकोट राजधानी हुनुपर्ने माग राखे। समितिले ५ जिल्ला सिफारिस गरे पनि नेपाल एकीकरणको वीरताको थलो नुवाकोट भएकाले त्यहाँ राजधानी हुनुपर्ने उनको दाबी छ। 'रसुवा, धादिङ र चितवनलाई नुवाकोट पायक पर्ने र सिन्धुपाल्चोकसँग सीमाना जोडिएको मध्यपहाडी लोकमार्गले मेलम्चीसँग जोड्ने भएकाले पनि नुवाकोट उपयुक्त हुन्छ। सबै राजधानी भारतको सीमासँग नजिक भएको भन्दै उनले प्रदेश नम्बर ३ को राजधानी चीनसँग नजिक किन नराख्ने,' उनले भने।
सांसद बसुन्धरा हुमागाईंले काभ्रे राजधानी हुनुपर्ने माग दोहोर्याइन्। आफ्नो जिल्ला भनेर मात्रै काभ्रेलाई आफूले सिफारिस नगरेको र सिन्धुपाल्चोक र दोलखालाई पनि पायक पर्ने भएकाले सिफारिस गरेको दाबी गरिन्। संघीय राजधानीबाट टाढा हुन नसकिने धारणा उनको थियो।
सांसद विजया श्रेष्ठले पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले विशेष अध्ययन गरेर हेटौँडा अस्थायी राजधानी राख्ने निर्णय गरेको भए पनि नेकपा सचिवालयले २ वर्षपछि गरेको निर्देशन संविधानको भावना विपरीत भएको दाबी गरिन्।
नेकपा सचिवालयले दिएको निर्देशनप्रति खेद प्रकट गर्दै उनले बृहत छलफल गरेर पक्ष विपक्षका सांसदहरु एक भएर निर्णय गर्न सकिने बताइन्। उनले हेटौँडा नै राजधानीका लागि उपयुक्त भएको भनाइ छ।
सांसद गीता वाग्लेले मेरो घरको डिलमै राजधानी लग्न पाए हुन्थ्यो भन्ने मानसिकताबाट टाढा हुनुपर्ने बताइन्। पार्टीले दिएकाले नै प्रतिनिधि भएर आए पनि अनुशासनभन्दा बाहिर गएर जे पनि बोल्न नपाईने उनको भनाइ छ।
‘बोल्न पाइन्छ तर अनुशासन भन्ने चिज सडकदेखि सदनसम्म हुनुपर्छ। हामीलाई मन्त्री दियो भने ठीक नदिए बेठीक,' उनले भनिन्, 'काभ्रे लैजाऊ, चितवन लैजाऊ, नुवाकोट लैजाऊ ..मुखको तितो मात्रै हो, हुनेवाला केही छैन।’
सांसद कृष्णलाल भँडेलले प्रदेशसभाले गर्ने निर्णयमा नेकपा सचिवालयले हस्तक्षेप गरेको भन्दै चिन्ता व्यक्त गरे। प्रदेशको राजधानी सबै हिसाबले भक्तपुर उपयुक्त हुने उनको धारणा थियो। सांसद इन्द्रमाया गुरुङले सिन्धुपाल्चोकको पेम्बाथानबाट जुगुल आउन २ दिनको समय लाग्ने र त्यहाँबाट हेटौँडा आउन १ दिन लाग्ने भएकाले त्यहाँका जनताको अवस्था बुझ्न पनि आग्रह गरिन्। काठमाडौं भक्तपुर लगायतलाई मात्रै तुलना गरेर नहुने र नुवाकोट, दोलखा र रसुवाका जनतालाई पनि हेरेर राजधानी तोक्नुपर्ने उनको भनाइ थियो। ‘हामी जनप्रतिनिधिलाई आउन समस्या छैन। तर गोल्छेगुम्बा, रामेछाप, दोलखाको दोरम्बाका जनताको हितमा हुन्छ की हुँदैन भन्ने कुरा पनि मनन गर्नुपर्छ,' उनले भनिन्।
सांसद विजय सुवेदीले नेकपाको सचिवालयमा राजधानी र नामका विषयमा छलफल भएको भन्दैमा कोकोहलो गर्नुपर्ने आवश्यकता नरहेको बताइ। अन्तिम निर्णय गर्ने अधिकार प्रदेशसभामा निहित रहेको भन्दै उनले कुनै दलको छलफलमा आपत्ति जनाउन नहुने बताइन्। सडक सुविधा भएको ठाउँमा राजधानी राखेर आनन्दले बस्ने कि नभएको ठाउँमा विकास होस् भनेर राजधानी बनाउने भन्दै उनले प्रश्न गरिन्। कांग्रेस सभापतिले नै हेटौंडालाई अस्थायी राजधानी बनाउने निर्णय गरेकाले कांग्रेसभित्र कुनै विवाद नहुने र नेकपाले पनि छिट्टै निर्णय गरिसक्ने उनले बताइन्।
सांसद शान्तिप्रसाद पौडेलले काभ्रेले ७७ प्रतिशत जनतालाई प्रतिनिधित्व गर्ने भएकाले राजधानी त्यहाँ नै हुनुपर्ने दाबी गरे। मकवानपुरले २३ प्रतिशत जनता र २९ प्रतिशत भूगोलको प्रतिनिधित्व गर्ने उनको भनाइ थियो। सांसद रिता माझीले नेकपा सचिवालयले गरेको निर्णय प्रदेशको राजधानी र नाम तोक्नका लागि मार्गदर्शक बन्न सक्ने बताइन्।
सांसद चन्द्र लामाले काभ्रेमा राजधानी राख्न हावापानी र भौतिक संरचनाका दृष्टिकोणले सबै भन्दा उपयुक्त हुने बताइन्। संविधानले सिंहदरबारको अधिकार जनताको घरदैलोमा भनेको छ हेटौंडामा राखेर आयो? भन्दै उनले प्रश्न गरिन्। ‘पार्टीले जे निर्णय गरेको भएपनि आफ्नो आत्मा साक्षी राखेर काबुमा हुँदैन। सबैको कुरा सुनौ आत्मा नमारौँ,' उनले भने। प्रदेश नम्बर ३ को प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो तीन बजे बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।