पानी जोगाउन तपाईं कुन हदसम्म जान सक्नुहुन्छ ? कस्तो उपाय अपनाउनुहुन्छ ? एकछिन सोच्नोस् त ।
तपाईं जतिसुकै उपाय लगाउनोस्, दक्षिण अफ्रिकाको नेताको हाराहारीमा जुक्ति प्रयोग नगर्नुहोला । यहाँ चर्चा गर्न लागिएका व्यक्ति हुन्, दक्षिण अफ्रिकाको प्रान्त वेस्टर्न केपकी नेता हेलेन जील । जसले बताएकी छिन्, उनी तीन दिनमा एक पटक मात्र नुहाउँछिन्।
उनले पानी बचाउन यस्तो गर्ने गरेकी हुन्।
'दिनहुँ कपाल धुने गर्दिनँ'
वेस्टर्न केप सुन्दर पहाडहरु र समुद्री किनारका लागि प्रख्यात छ । तर, केही समययता त्यहाँ पानीको अभाव भएको छ । गत वर्षको खडेरीपछि त त्यो क्षेत्रको हालत निकै बिग्रिएको छ।
यसै कारण नेता जीलले तीन दिनमा एक पटक मात्र नुहाउने निधो गरेकी हुन् । आफ्नो यस्तो अनौठो निर्णयको बारेमा उनले एक लेखमा भनेकी छिन्- 'मैल तीन दिनमा एक पटक नुहाउने फैसला गरेको छु, बाँकी दिन म आफ्नो हात धोएर चित्त बुझाउँछु । पहिले म दैनिक आफ्नो कपाल नुहाउँथे । तर अब नुहाउने बेला मात्र कपाल धुने गर्छु।'
जील दक्षिण अफ्रिकाको विपक्षी पार्टी डेमोक्रेटिक अलायन्सकी संस्थापक हुन्।
सोसल मिडियामा छेडखानी
केपटाउनका बस्तीहरुमा बस्ने अधिकांश जनता सरकारी धाराबाट वितरण हुने पानीमै निर्भर छन् । यो पानी बचाउन नुहाउनै छोड्नु कति ठूलो बलिदान हो, मानिसहरुका लागि यो कुरा मजाक जस्तो बनेको छ । यस विषयमा कैयौं व्यक्तिले सोसल मिडियामा जीललाई छेडखानी गरेका छन्।


जीलमाथिका आरोप
यसैबीच, टाइम्स लाइभमा प्रकाशित एक लेखमा 'केप टाउनस्थित जीलको निवासमा पानी प्रशोधन गर्ने उपकरण राखिएको' भनिएको छ । वाटर प्युरिफायर जनताले तिरेको करबाट जडान गरिएको उल्लेख गरिएको छ ।
यद्यपि यो आरोपलाई जीलले अस्वीकार गरेकी छिन्।
यसको साटो जीलले पानी बचाउन आफूले कति प्रयास गरिरहेको भनेर बताउने प्रयास गरेकी छिन्। उनले बताएकी छिन्, 'म र मेरा पति सकेसम्म थोरै पानीको उपयोग गर्ने कोसिस गरिरहेका छौं । यसबाट मेरो स्वास्थ्यमा असर पर्ला किन भनेर म चिन्तित पनि हुन्छु।'
नेताले नुहाउने समय कटौती गरेको विषयलाई जनताले छेडखानीको विषय बनाए पनि खासमा त्यस क्षेत्रमा पानीको अभाव निकै गम्भीर समस्या हो।
पानीको अभावसँग लड्दै
वेस्टर्न केपको पानी सम्बन्धी विभागका अनुसार त्यस इलाकाको वरिपरि रहेको बाँधमा जलस्तर घटेर ३५ प्रतिशतमा झरेको छ । गत वर्ष भने जलस्तर ६१ प्रतिशत थियो।
यसका कारण त्यहाँ प्रतिव्यक्ति एकदिनमा ८७ लिटर पानी उपयोग गर्न अनुमति दिइएको छ । वेस्टर्न केपको कुल जनसंख्या ६० लाख छ।
२०११ मा भएको एक अध्ययन अनुसार सामान्यतया यदि कुनै व्यक्ति नुहाउनका लागि आठ मिनेट लगाउँछ भने उसले ६२ लिटर पानी खर्च गर्छ । अर्थात् एक व्यक्तिलाई दिनभरिमा जति पानी उपयोग गर्न अनुमति दिइएको छ, यो त्यसको ७० प्रतिशत हो । तोकिएको सीमाभन्दा बढी पानी उपयोग गरेमा जरिवाना तिर्नुपर्ने नियम छ। तर, यो तरिका पनि पूर्णरुपमा प्रभावकारी हुन सकेको छैन।
अहिले त्यो क्षेत्रमा पानीको आपूर्तिका लागि नयाँ तरिकाहरु सोचिँदै छ । जसमा पानीको रिसाइक्लिङ सहितका उपाय समेटिएको छ।
बिबिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।