- २०३८ साल। ‘बी’ डिभिजनको खेलमा ठमेल देउराली क्लबबाट मनाङका खेलाडीहरु खेलिरहेका थिए। थ्री स्टार क्लबसँग प्रतिस्पर्धा चलिरहँदा दर्शकबाट सुरु भएको झगडामा दुवै टिमका खेलाडीहरु मिसिए। घटनालाई लिएर एन्फाले ठमेल देउराली क्लबलाई एक वर्षको प्रतिबन्ध लगायो। त्यसपछि ठमेलकै केही पदाधिकारी मिलेर जन्माए मर्स्याङ्दी मनाङ फुटबल क्लब।
- २०४४ साल। विराटनगरमा जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दी क्लबबीच महेन्द्र गोल्डकपको फाइनल खेल चलिरहेको थियो। मनाङ पराजित भयो। पुरस्कार दिने क्रममा कमल थापाले मणि शाहसँग मात्रै हात मिलाएको भन्ने निहुँ निकाल्दै दर्शकले ढुंगा हाने। दर्शकको ढुंगा प्रहार खेलाडीमाथि नै थियो।
- २०७६ साल। सहिद स्मारक ‘ए’ डिभिजनको जारी लिगमा नै उपाधि दाबेदार टिम मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच खेल चलिरहेको थियो। खेल सकिएको अन्तिम जनावपछि खेलाडीहरु झगडामा मिसिए। खेल भावना विपरीत उनीहरुको व्यवहार देख्नेहरु जिल खाए। त्यसअघि यही लिगमा नै ब्रिगेड ब्वाइज क्लब र मनाङ मर्स्याङ्दीबीचको खेलमा एक दर्शकको अश्लिल गालीले फुटबल समर्थकहरु नै लज्जित हुनुपर्ने घटनासमेत घट्यो।
यी केही उदाहरण हुन्। नेपाली फुटबलमा मनाङ मर्स्याङ्दी क्लबको छबी विजेताका रुपमा जसरी बनेको छ, उसैगरी झगडालु क्लबका रुपमा पनि बदनाम भइरहन्छ। त्यसमा विशेष त दर्शक नै जोडिन्छन्। २०४२ साल यता आठ पटक लिग जितेको मनाङ मर्स्याङ्दीमा हरेक सिजन केही न केही विवाद देखिन्छ नै। धेरैजसो दर्शक सामेल हुन्छन् त कहिले खेलाडी नै।
लिगमा सबैभन्दा धेरै आठ पटकको विजेता मात्रै होइन मनाङ मर्स्याङ्दीले महेन्द्र गोल्डकप, बुढासुब्बा गोल्डकप, खुकरी गोल्डकप, इटहरी गोल्डकप, झापा गोल्डकपलगायत राजधानीबाहिरका दजनौँ प्रतियोगितासँगै भुटान पुगेर किङ्स कपको उपाधिसमेत जितेको छ। र विजेता टिमको छबीमा ‘तातो रिस’को आवेग पनि उति नै।
हुन त मनाङ मर्स्याङ्दीसँग मात्र होइन नेपाली फुटबलमा झगडा हरेक क्लबसँग जोडिएका छन्, त्यसमा पछिल्लो समयमा दर्शककै कारण पनि मनाङ बढी विवादित बनिरहन्छ। अझ नेपालमा पहिलो पटक भएको लिग फुटबलमा पुग्ने हो भने त झगडाकै कारण प्रतियोगिता पूरा हुन पाएको थिएन।
जानकारहरु भन्छन्- १९९५ सालमा फुटबलका पारखी नरसम्सेरले नेपालमा लिग फुटबल सुरु गर्दा फाइनल अगावै प्रतियोगिता झगडाकै कारण सकिएको थियो। जुद्धसम्सेरका नाति नरसम्सेरको अथक प्रयासपछि सुरु भएको पहिलो लिगमा जावलाखेल, भारतीय दूतावासका कर्मचारी मिश्रित ठमेल, डिल्लीबजारको महावीर क्लब, पाटन, इन्टर इन्टिस्च्युट लगायतका टोली समावेश थिए।
लिग एक घण्टा खेलाइन्थ्यो। सबै खाली खुट्टा खेल्थे। पाकिस्तानको सियालकोटबाट ल्याइएको रबरको ब्लाडरमा हावा हालेर बाहिर छालाले बेरेको फुटबल खेलिन्थ्यो। त्यस्तो दुःख गरेर सुरु भएको लिग पनि झगडाले सकिन पाएन।
२०११ सालपछि अहिलेसम्म ४२ वटा लिग सकिएर ४३ औँ लिग चलिरहँदा पनि नरसम्सेरको पालाको जस्तो झगडा भने देखिन्छ नै। भलै अहिले आधुनिक फुटबल र त्यसको संयन्त्रको विकासले झगडाले नै प्रतियोगिता भने रोकिँदैन।
जावलाखेल र ठमेलबीचको खेलमा नरसम्सेर र रामनारायण मिश्रबीचको झगडा भयो। नरसम्सेर त्यतिबेला शासकीय रूपमा निकै शक्तिशाली थिए। भन्ने गरिन्छ, खेलमा कहिल्यै हार्न हुँदैन भन्ने मान्यता उनमा थियो। त्यही मान्यताले भारतीय दूतावासका कर्मचारी रामनारायण र उनीबीच मैदानमा झगडा भएको थियो। (समर्थन २०७५, सम्पादन- चेतन पाण्डे)
ती दुईको झगडा त्यतिबेलाका राणा प्रधानमन्त्री कहाँ समेत पुगेको थियो। त्यतिबेला सत्तामा रहेका राणाहरूको भनाइ थियो, ‘राणाहरूले जनतासँग झगडा गर्नहुन्न।’ त्यसैले राणहरुले पहिलो पटक सुरु भएको लिग फुटबल नै बन्द गरिदिए। जसले लामो समय फुटबल लिग हुनै पाएन।
नरसम्सेरकै सक्रियतामा २००८ सालमा नेपाल फुटबल संघ बनेपछिको राम जानकी कप र त्यसैको सुरुवातले २०११ सालमा जन्मिएको सहिद स्मारक लिग अहिलेसम्म नेपाली फुटबलको मेरुदण्ड बनिरहेको छ।
२०११ सालपछि अहिलेसम्म ४२ वटा लिग सकिएर ४३ औँ लिग चलिरहँदा पनि नरसम्सेरको पालाको जस्तो झगडा भने देखिन्छ नै। भलै अहिले आधुनिक फुटबल र त्यसको संयन्त्रको विकासले झगडाले नै प्रतियोगिता भने रोकिँदैन।
गएको सोमबार दशरथ रंगशालामा एउटा घटना घट्यो, जुन फुटबल नियम विपरित थियो। व्यवसायिक फुटबलरले गर्ने व्यवहार भन्दा निकै पर।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र र मनाङ मर्स्याङ्दी क्लब ‘भाइटल’ टिम हुन्। लिग च्याम्पियनका लागि मनाङ र मछिन्द्रबीचको हार-जितले ठूलो अर्थ राख्थ्यो। लिगमा मनाङको १० अंक हुँदा मछिन्द्रको ९ अंक थियो। ९० मिनेटपछि अतिरिक्त समयको रुपमा ५ मिनेट म्याच रेफ्रि श्रवण कुमार तामाङले थप गरे।
त्यति बेलासम्म खेल २-२ गोलको बराबरीमा थियो। खेलमा कुनै तनावग्रस्त अवस्था सिर्जना भएको थिएन। तर रेफ्रिले खेल सकिएको सिटी फुक्न केही सेकेण्ड अघि खेलभावना विपरीत काम देखियो। खेलको ६७औं मिनेटमा विदेशी खेलाडी भिडाल लुइस चिसानोको स्थानमा मैदान छिरेका जगजित श्रेष्ठले मछिन्द्र क्लबका दीपक राईलाई टाउकोमा कुहिनाले हाने। दशरथ रंगशालामा विवादको मुख्य जड त्यही हो।
अन्तिम ह्विसल बजेपछि त खेलाडीहरुको झगडा मिलाउन प्रहरीसमेत मैदान पसिदियो। पदाधिकारी खेलाडीलाई सम्हाल्न अचेटिरहेका थिए। सामूहिक रुपमा एकअर्काविरुद्धको हुलहुज्जत केही समय चल्यो।
झगडापछि मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक धनेश्वर प्रजापतिले खेल सकिएपछि खेलाडी आफ्नो नियन्त्रणमा नहुने भन्दै छोटो जवाफ दिए। ‘खेल सकिएपछि खेलाडीहरु हाम्रो नियन्त्रणमा हुँदैनन्। सबै खेलाडीलाई हेरेर पनि सकिँदैन, खेलाडी आफैले अनुशासन पालन गर्नुपर्ने हो। यसबारे क्लबले छलफल गर्छ’ उनले भने।
मछिन्द्र क्बलमा प्रशिक्षक प्रवेश कटुवाल आफ्ना खेलाडी झगडालु नभएको भन्दै भन्छन्- ‘हाम्रा खेलाडी झगडा गर्ने खालका होइनन्। मनाङका खेलाडीले झगडा सुरुवात गरेका हुन्। मनाङका बेन्च खेलाडी गोलपिकर अशोक बरालले धकेलेपछि देवेन्द्र तामाङ जङ्गिएका हुन्।’
२०३८ सालमा ‘बी’ डिभिजन लिगमा ठमेल देउराली क्लब र थ्री स्टार क्लबबीचको प्रतिस्पर्धा थियो। देउराली क्लबबाट मनाङका युवा मिसिएर खेलेका थिए। खेल चलिरहेका बेला दर्शकबाट सुरु भएको झगडा खेलाडीसम्म पुग्यो। त्यहि घटनालाई लिएर एन्फाले ठमेल देउराली क्लबलाई एक वर्षको प्रतिबन्ध लगायो भने चार जना खेलाडी पनि प्रतिबन्धमा परे।
कारण जे भए पनि मैदानमा खेल सकिएपछि जे देखियो त्यो देखिनु हुँदैन थियो। जारी लिगमा नै मनाङ मर्स्याङ्दीको दर्शकका कारण पनि एक खेलमा झमेला भयो।
गएको १० गते एन्फा कम्प्लेक्समा ब्रिगेड ब्वाइज क्लब र मनाङ मर्स्याङ्दीबीच खेल चलिरहेको थियो। खेलको ७४ औं मिनेटमा मनाङका एकराज बुढाथोकीले ब्रिगेडका विजय गुरुङको टाउकोमा गम्भीर फोउल गरेपछि रेड कार्ड पाए। मैदानमै ढलेका विजयको टाउकोमा पट्टी नै बाँध्नु पर्ने अवस्था आयो। त्यहि बेला दर्शकदीर्घाबाट एउटा छुच्चो अप्रिय स्वर गुन्जियो। ‘त्यो मरे पनि हुन्छ।’ पटक पटक एउटै शब्द आइरहे।
सुरक्षाकर्मीले ती दर्शकलाई चुप बस्न आग्रह गर्दा पनि मनाङ मर्स्याङ्दीकी ती समर्थक झनै उग्र देखिएकी थिइन्। मनाङकी नियमित ती समर्थकलाई बाहिर नै निकालियो। उनको अपशब्द मिश्रित वाक्यहरु खेलको समर्थनभन्दा बढी आक्रोस थियो।
यसरी दर्शकसँगका कारण लज्जित हुनुपरेको मनाङ मर्स्याङ्दी क्लब मछिन्द्रविरुद्धको झगडामा त खेलाडी नै सामेल भइदिए। दर्शकको दुव्र्यवहार क्लबको नियन्त्रणमा नरहे पनि खेलाडीको अनुशासनहीन व्यवहारको साक्षी भने ब्यवस्थापन बस्नु हुँदैन।
मनाङ र मछिन्द्रबीचको झगडामा चकित हुने अर्को पाटो दुवै टिमका खेलाडीहरुको क्लबसँगको सम्बन्धले हो। अहिले मछिन्द्रमा रहेका ९ खेलाडी पहिले मनाङ मर्स्याङ्दीकै खेलाडी हुन्। कप्तान विराज महर्जनदेखि सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, दीपक राई, हेमन गुरुङ, एडिलजा सोमिडे, अभिषेक रिजाल र देवेन्द्र तामाङ मनाङकै स्टार खेलाडी थिए।
२०५२ सालमा आरसिटीबाट मनाङ मर्स्याङ्दी क्लबमा गएका बालगोपाल महर्जन आफू खेल्दाको समय सम्झँदै त्यस्तो केही नभएको बताउँछन्। अहिले मनाङ र मछिन्द्रका खेलाडीमा देखिएको झगडा व्यक्तिगत ‘इगो’ भएको उनको बुझाई छ।
‘म मनाङमा हुँदा टिम राम्रो थियो। त्यस्तो कुनै समस्या नै भएन। मैले फ्रेन्ड्स क्लबलाई गोल हानेर खेल मनाङलाई जिताएर नै म भारतको लिग खेल्न गएको थिएँ। त्यो बेला हरेक पल क्लबको लागि भनेर खेल्यौं। त्यस्तो केही भएको थिएन। तर मनाङ र मछिन्द्रबीचको खेलमा भने खेलाडीबीच व्यक्तिगत ‘इगो’ जस्तो देखियो,’ आफ्नो समयसँग तुलना गर्दै बालगोपाललले भने।
त्यसबेला आरसीटीको व्यवस्थापन राम्रो नभएकोले राम्रो क्लबमा जाने भनेर बालगोपालसँगै स्टार खेलाडीहरु उमेश प्रधान, मणि शाहलगायत हामी ८ जना खेलाडी मनाङ मर्स्याङ्दी क्लबमा गएका थिए। जसरी अहिले मनाङबाट खेलाडीहरु मछिन्द्र गए।
मनाङ मर्स्याङ्दी क्लबलाई २०५७, २०६० र २०६२ सालमा लिग जिताएका पूर्वकप्तान कुमार थापा खेलको दौरान रिस उठे पनि त्यसलाई व्यक्त नगरी अगाडि बढ्ने गरेको सम्झन्छन्। ‘खेलको दौरानमा अलिअलि रिस त उठिहाल्छ। तर हामी मान्छेलाई पिट्नु भन्दा गोल हानेर ठीक पाथ्र्यौं’ २०४९ देखि २०६२ सम्म मनाङबाट खेलेका उनले हाँस्दै भने।
मनाङ मर्स्याङ्दी र मछिन्द्रबीच चलेको झगडापछि अहिले काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष रहेका मनाङका पूर्व खेलाडी विराटजंग शाही मनाङ मर्स्याङ्दी क्लबको २०४४ सालको एउटा घटना सम्झन्छन्।
‘विराटनगरमा २०४४ सालमा भएको महेन्द्र गोल्डकपमा मनाङको लफडा परेको थियो। मनाङ फाइनलमा जनकपुर चुरोट कारखानासँग पराजित भयो, पुरस्कार दिने क्रममा अतिथि बनेर आएका राज्यमन्त्री कमल थापाले खेलाडी मणि शाहसँग मात्रै हात मिलाएको भन्दै त्यहाँका दर्शकले मनाङका खेलाडीलाई ढुंगा हानेका थिए, त्यसले केहीबेर तनावको स्थिति सिर्जना भएको थियो’ उनले सम्झिए।
मनाङ मर्स्याङ्दीबाट समेत फुटबल खेलेका राष्ट्रिय टिमका पूर्व कप्तान राजुकाजी शाक्य आफूहरुले खेल्ने समयमा त्यस्तो झगडा नपरेको सुनाउँछन्। तर त्यो समयमा टोल नै बन्द हुने गरी फुटबल चलेको भने उनको स्मृतिमा ताजै छ।
‘नेपाली फुटबलमा झगडा त पहिलेदेखि नै हुन्थ्यो। रानी पोखरी कर्नर टिम (आरसिटी) आयो भने असन नै बन्द हुन्थ्यो। न्यु रोड टिम (एनआरटी) खेल्दा न्यु रोड बन्द हुने। ठमेल खेल्दा ठमेल बन्द हुने। थ्रीस्टार खेल्दा पाटन बन्द हुने त्यस्तो घटनाहरु त निकै हुन्थे’ अहिले एनआरटीको प्रशिक्षक रहेका राजुकाजीले सुनाए।
मनाङ मर्स्याङ्दी क्लबलाई २०५७, २०६० र २०६२ सालमा लिग जिताएका पूर्वकप्तान कुमार थापा खेलको दौरान रिस उठे पनि त्यसलाई व्यक्त नगरी अगाडि बढ्ने गरेको सम्झन्छन्। ‘खेलको दौरानमा अलिअलि रिस त उठिहाल्छ। तर हामी मान्छेलाई पिट्नु भन्दा गोल हानेर ठीक पाथ्र्यौं’ २०४९ देखि २०६२ सम्म मनाङबाट खेलेका उनले हाँस्दै भने।
‘हाम्रो बेलाका खेलाडीहरुले यस्तो खाले झगडा नै त गरेनन्। अहिले व्यावसायिक भएका छन् खेलाडीहरु। तर खै के सिके? कतिपय बेलामा खेलाडीले फोउल हान्दा सानो तिनो तनाव उत्पन्न हुन्छ। हुन्थ्यो पनि तर यस्तो प्रकारको इख नै लिएर चाहिँ लफडा हुने गरेको थिएन’ उनले सुनाए।
रेफ्रि, क्लब, सुरक्षाकर्मी वा एन्फाले खेलाडीलाई नियन्त्रणमा लिने भन्दा पनि आफै नियन्त्रण हुनुपर्ने उनको तर्क छ। ‘अहिले त जिल्लातिरको प्रतियोगितामा पनि यस्तो तनाब हुँदैन। मछिन्द्र र मनाङको विषयमा खेलाडी-खेलाडी बीचमा झगडा गर्नु भनेको यिनीहरुको व्यक्तिगत कारण हो। यो फुटबललाई इज्जत गरेको होइन’ उनले भने।
मनाङको झगडालु स्वभावमा केही पूर्व खेलाडीहरु क्लब स्थापनको समयलाई पनि सम्झन्छन्।
व्यापारकै शिलशिलामा मनाङका युवाहरु २०२० को दशकमा काठमाडौं आएका थिए। काठमाडौं बस्ने क्रममा उनीहरु फुटबल खेल्न थाले। उनीहरुको फुटबल राम्रो हुँदै जाँदा ठमेल देउराली क्लबबाट फुटबल खेल्न थाले। ठमेल देउराली क्बलमा खेलाडीको अभाव मनाङका खेलाडीले पूरा गरिदिएका थिए।
२०३८ सालमा ‘बी’ डिभिजन लिगमा ठमेल देउराली क्लब र थ्री स्टार क्लबबीचको प्रतिस्पर्धा थियो। देउराली क्लबबाट मनाङका युवा मिसिएर खेलेका थिए। खेल चलिरहेका बेला दर्शकबाट सुरु भएको झगडा खेलाडीसम्म पुग्यो।
त्यहि घटनालाई लिएर एन्फाले ठमेल देउराली क्लबलाई एक वर्षको प्रतिबन्ध लगायो भने चार जना खेलाडी पनि प्रतिबन्धमा परे। मणि शाह, श्याम थापा, कर्मा गुरुङ र रोशन श्रेष्ठ गरी ठमेलका चार खेलाडी प्रतिबन्धमा परेका थिए। थ्री स्टार क्लब भने ‘बी’ डिभिजनको विजेता बन्दै ‘ए’ डिभिजनमा उक्लिएको थियो।
ठमेल देउराली क्लब प्रतिबन्धमा परे पनि मनाङबाट आएका युवाहरूले हार मनेनन्। फुटबलको लत जो बसिसकेको थियो। फलस्वरुप मनाङका युवाहरु मिलेर २०३९ सालमा मर्स्याङ्दी मनाङ क्लबको स्थापना भयो। पछि यही क्लब मनाङ मर्स्याङ्दी क्लब भएको हो।
एक समय ठमेल, एनआरटी, आरसिटी क्लबहरुका कारण लिग फुटबलमा हुने झगडाको पछिल्लो जिम्मा मनाङ मर्स्याङ्दीले पाएजस्तो देखिन्छ। फुटबलको आधुनिक विकाससँगै बढिरहेको ‘फेयर प्ले’ को सोचलाई लत्याएर अनुशासनहीन गतिविधि गर्दै खेलमा झेल गर्नु फुटबलकै विकासमा राम्रो रहँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।