राजविराज– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चैत २३ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बन्ध सुधारमा विशेष ध्यान दिन सुझाव दिएका छन्।
नेपाल जस्तो कमजोर मुलुकले दुवै छिमेकी कुलुकसँग बराबरीको सम्बन्ध बनाउनु उचित हुने भन्दै उनले कार्ड प्रयोग गर्ने समय सकिएको बताए। ‘भारत र चीनको सम्बन्ध अहिले बलियो हुँदैछ’, यादवले भने, ‘अब कार्ड खेल्ने युग सकियो।’
नेपालको हालसम्मको कूटनीतिक प्रयास कमजोर भएको तर्क गर्दै उनले दुवै छिमेकी मुलुकसँग मित्रता कायम गर्दै विकासमा साझेदारी गर्नेतर्फ प्रधानमन्त्रीको प्रयास हुनुपर्ने सुझाव दिएका छन्।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव शनिबारदेखि गृहजिल्लामा छन्।
जिल्लामा रहेको समयमा उनले सरकारका गलत नीति र योजनाका कारण मुलुक आर्थिक रुपमा टाट पल्टेको आरोप समेत लगाएका छन्। यादवले भ्रष्टाचार, कमिसन, अराजकता, लुटतन्त्र तथा सरकारको गलत नीतिका कारण यस्तो अवस्था आएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।