काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) मा महेन्द्रनगर युनाइटेडले विराटनगर किंग्सलाई ३३ रनले पराजित गरेको छ।
महेन्द्रनगरले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पारस खड्काको कप्तानीमा रहेको विराटनगर १९ ओभरमा १ सय ३५ रनमा अलआउट भयो। विराटनगरका लागि पृथु बाँस्कोटाले ३५ रन जोडे भने बाबर हायतले ३२ रनको योगदान गरे। बाँस्कोटाले ३९ बलमा २ चौका र १ छक्का प्रहार गरे भने हायतले १० बलमा २ चौका र ४ छक्का प्रहार गरे। दिलीप नाथ १० र अनिलकुमार साह २३ रनमा आउट भए। कप्तान पारसले १६ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङतर्फ महेन्द्रनगरका अभिनास कर्णले ३ विकेट लिए। पुनित महेरा, भुनव कार्की र रोविन क्षेत्रीले समान २–२ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन जोड्यो। ओपनिङमा आएका कप्तान विनोद भण्डारीले २९ बलमा ३५ रन जोडे। उनले ५ चौका र १ छक्का प्रहार गरे। पुनित विष्टले २४ रन जोडे भने हरिशंकर साहले १९ र आरिफ शेखले २० रनको योगदान दिए। पुनित मेहराले नटआउट ३८ रन जोडे। उनले १८ बलमा २ चौका र ३ छक्का प्रहार गरे। बलिङतर्फ मञ्जित श्रेष्ठले २ विकेट लिए भने पारस खड्का र शुभम् कामतले १–१ विकेट लिए।
योसँगै पहिलो चरणको खेल सकिएको छ। पहिलो चरणमा काठमाडौं, अत्तरिया र महेन्द्रनगर विजयी हुँदा धनगढी, रुपन्देही र विराटनगर पराजित भए।
प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेलमा धनगढी र अत्तरिया तथा दोस्रो खेलमा रुपन्देही र काठमाडौंबीच खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।