सुर्खेत– छिमेकी देश चीनसँग जोडिएका कर्णालीका उत्तरी नाकाहरू सञ्चालनमा ल्याउने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ। प्रदेशको सीमाना भारतसँग नजोडिएको र तत्काल उत्तरी नाकाहरू सञ्चालनमा नआए प्रदेशको समृद्धिमा बाधा हुने भन्दै कर्णाली प्रदेश सरकारले उत्तरी नाक सञ्चालनमा ल्याउने योजनालाई प्राथमिकतामा राखेको हो।
कर्णालीमा ५२ प्रतिशत गरिबी रहेको र विकल्पका रूपमा रहेका उत्तरी नाकाहरू पनि तत्काल सञ्चालनमा नल्याए प्रदेशको आर्थिक अवस्था धरासायी हुने निष्कर्षसहित प्रदेश सरकारले चीनसँग व्यापार विस्तारका लागि पहल गर्न लागेको हो। जतिसक्दो छिटो उत्तरी नाका खोल्ने गरी पहल भइरहेको प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए।
मुख्यमन्त्री शाहीले हुम्ला, मुगु र डोल्पाका तीनवटै नाका खोल्नका लागि सरकारले पहल गरिरहेको जानकारी दिए। शाहीले एक वर्षभित्रै हिल्सा नाका खोल्ने बताए। उनले भने, ‘हुम्लाको हिल्सा नाका तत्कालै खोल्न सकिने सम्भावना छ, हामी हुम्ला, मुगु र डोल्पाका तीन नाका खोल्ने गरी पहल गरिरहेका छौं।’ कर्णाली करिडोरलाई दुई लेनको बनाएर मुगु र डोल्पाका उत्तरी नाका पनि खोलिने उनको भनाइ थियो।
चीनसँग मात्रै सीमा जोडिएको कर्णाली प्रदेशका उत्तरी नाका बन्द छन्। प्रदेश सरकारले उत्तरी नाकालाई प्राथमिकतामा राखेर हिल्साबाट काम सुरु गर्ने जनाएको छ। दुई वर्षअघि यहाँका तीनवटा नाका खोल्ने सहमति भए पनि अझै सञ्चालनमा आउन सकेको छैन।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई आर्थिक रुपमा सबल बनाउन उत्तरी नाका खोलेर चीनसँग व्यापार बढाउनु अपरिहार्य भएको बताए। ‘सरकारले तिब्बतसँगको हिल्सा नाका सञ्चालन गर्ने योजनालाई प्राथमिकतामा राखेको छ। त्यसका लागि संघीय सरकारमार्फत पहल सुरु गरिसकिएको छ,’ उनले भने।
प्रदेशसभाका सांसद गुलावजंग शाह पनि कर्णाली प्रदेशको समृद्धिको पहिलो आधार उत्तरी नाका नै भएको बताउँछन्। मुगुको गमगढी–नाक्चेनांग्ला सडक (८५ किलोमिटर), हुम्लाको सिमीकोट–लिमी–लाप्चा सडक (९० किलोमिटर), हुम्लाकै सिमीकोट–हिल्सा सडक (७८ किलोमिटर) र डोल्पाको दुनै–धो–मुरिम्ला सडक (१६० किलोमिटर) निर्माण गरी तिब्बतसँग नजोडेसम्म कर्णाली प्रदेशको समृद्धि सम्भव नहुने उनले बताए।
‘नाका खुलेमा यो प्रदेशका जनता लाभान्वित हुने मात्र होइन, प्रदेश ५ का बाँके र बर्दियासहित उत्तरी भारतले समेत भविष्यमा लाभ लिन सक्नेछ,’ सांसद शाहले भने, ‘उत्तरी भारत र तिब्बतबीचमा भविष्यमा हुन सक्ने व्यापारले नेपालको यो प्रदेशको अर्थतन्त्र मजबुत हुनेछ र यसले समृद्धिमा टेवा पुग्नेछ।’
स्थानीय सरकारको पनि जोड
प्रदेश अन्तर्गत चीनसँग जोडिएका हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना, डोल्पाका मरिम्ला र क्याटोछुंग्रा नाकाहरू एकमुष्ठ सञ्चालनमा ल्याउनुपर्नेमा स्थानीय सरकारका जनप्रतिनिधिहरुको जोड छ। कर्णाली प्रदेशमा एउटा पनि भन्सार नहुँदा राजश्व संकलन र आन्तरिक आम्दानीको स्रोत नभएकाले तत्काल चीनसँग पारवहन सम्झौता गरी प्रदेशलाई समृद्ध बनाउनतर्फ लाग्नुपर्ने उनीहरु बताउँछन्।
‘समृद्ध कर्णाली बनाउनु छ, यसका लागि छिमेकी मुलुकसँग व्यापार सम्झौता गरौं,’ दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाही भन्छन्, ‘जबसम्म हाम्रो प्रदेश चीनसँग जोडिँदैन, तबसम्म कर्णालीको अर्थतन्त्र सवल हुन सक्दैन। प्रदेश सरकारले तत्काल उत्तरका नाका खोल्नेतर्फ ध्यान देओस्, पारवहन तथा व्यापार सम्बन्ध सुनिश्चित गरियोस्।’ नाका सञ्चालनका लागि आवश्यक परे स्थानीय तहले पनि बजेट कटौती गरेर दिन तयार रहेको उनको भनाइ छ।
यस्तै, डोल्पाको त्रीपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष होमबहादुर बुढाले आन्तरिक आम्दानीको स्रोत बढाउन तत्काल उत्तरका नाका खोल्नुपर्नेमा जोड दिए। ‘हामीसँग आम्दानीको स्रोत छैन, ५२ प्रतिशत गरिबी हटाउनुपर्ने ठूलो चुनौती छ,’ उनले भने, ‘कर्णालीमा अहिले भन्सार उठ्ने ठाउँ नै छैन, अब प्रदेश सरकारले चीनसँग जोडिएका सबै नाका सुचारु गरोस्।’
चीनसँग कर्णाली प्रदेशलाई सिधा जोड्नुपर्ने र प्रदेश राजधानीसँग सबै जिल्ला जोड्नेगरी सडक निर्माणको कामलाई पनि प्राथमिकता दिनुपर्ने उनको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।