काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) मा सिवाइसी अत्तरियाले सानदार जित हात पारेको छ। आइतबार भएको पहिलो खेलमा अत्तरियाले रुपेन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरेको हो।
रुपन्देहीले दिएको ६२ रनको लक्ष्य अत्तरियाले ७.३ ओभरमा १ विकेटको क्षतिमा पार गर्यो। अत्तरियाको जितमा प्रेम तामाङले नटआउट १४ र गौरव चितकाराले नटआउट ३० रन जोडे। तामाङले १९ बलमा २ चौका र गौरवले १३ बलमा २ चौका र ३ छक्का प्रहार गरे। त्यसअघि कप्तान तथा ओपनर सुवास खकुरेल १३ बलमा १९ रन जोडेर आउट भए।
टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही १५.२ ओभरमा ६१ रनमा अलआउट भयो। रुपन्देहीका लागि सुफायन मोहम्मदले नटआउट २० रन जोडे। ओमानका खेलाडी उनले २५ बलमा १ चौका र १ छक्का प्रहार गरे।
अन्य १० ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनरद्वय प्रदिप ऐरी र सागर पुन खाता नै नखोली पेभेलियन फर्केका थिए। त्यसपछि रुपेन्देहीले लगातार विकेट गुमाएको थियो। बलिङतर्फ अत्तरियाका कमलसिंह ऐरीले ४ विकेट लिए। शुभान्कर उरावले ३ विकेट लिँदा कृष्ण कार्की, बिपिन चन्द र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।
डिपिएलमा आइतबारको दोस्रो खेलमा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।