म्यानचेस्टर – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको छ। शनिबार राति एभर्टनलाई ३–१ गोलले पराजित गरेसँगै सिटी उपाधिबाट एक जित मात्र टाढा रहेको हो। बाँकी रहेका ७ खेल मध्ये सिटीलाई एक खेल जिते लिग जित्न पर्याप्त हुनेछ। अब शनिबार हुने म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडलाई हराए सिटीले सिजनको लिगको उपाधि जित्नेछ।
सिटीलाई जित दिलाउन सानेले चौथो मिनेटमा गोल गर्दा जेससले १२ र रहिम स्टर्लिङले ३७ मिनेटमा गोल गरेका थिए। एभर्टनका लागि बोलासेइले ६३ मिनेटमा गोल गरे।
लिगका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले स्वान्सीलाई २–०, वेस्ट ह्यामले साउथह्याम्टनलाई ३–०, वर्नलीले वेस्ट ब्रुमलाई २–१, न्युकासलले हडर्सफिल्डलाई १–० र लेस्टरले ब्रिङटनलाई २–० ले पराजित गरेका छन्। वाटफोर्ड र वर्नमाउनबीचको खेल २–२ गोलको बराबरीमा सकियो।
लिगको शीर्ष स्थानको म्यानचेस्टर सिटीले ३१ खेलबाट ८४ र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ६८ अंक छ। ३२ खेल खेलेको तेस्रो स्थानको लिभरपुलको ६६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।