काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ। शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले घरेलु टिम चौराहा धनगढीलाई ७ विकेटले पराजित गरेको हो।
धनगढीले दिएको १ सय ४६ रनको लक्ष्य काठमाडौले ८ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पार गर्यो। काठमाडौंको जितमा ओपनर अमित श्रेष्ठले विस्फोटक ब्याटिङ गरे। उनले नटआउट ८१ रन जोडे। ६५ बल खेलेका अमितले ९ चौका र ४ छक्का हिर्काए। नरेश बुढाऐरले नआउट २४ रन जोडे। उनले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे। अमित र नरेशबीच नटआउट ५५ रनको साझेदारी भएको थियो।
अमितका ओपनिङ पार्टनर जयकिशन कोल्सावाला १६ रनमा आउट भएका थिए। उनले १३ बलमा समान १–१ चौका र छक्का हिर्काए। कप्तान ज्ञानेन्द्र मल्ल१० रनमा आउट हुँदा सनी पटेल ७ रनमै पेभिलियन फर्के थिए। तर अमित श्रेष्ठ र नरेश बुढाऐरको जोडी जम्दा काठमाडौंले सानदार जित निकाल्न सफल भयो।
बलिङतर्फ धनगढीका सांसद शेखले २ र सुनील धमलाले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन जोड्यो। धनगढीका लागि ओपनर सुनील धमलाले अर्धशतक प्रहार गरे। उनले ६८ रनको योगदान गरे। ५७ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर पुनित मिश्रा ९ रनमा आउट भएपनि धमलालाई शंकर रानाले साथ दिए। रानाले ३६ रन बटुले। ३१ बलको सामाना गरेका उनले ५ चौका प्रहार गरे। धमला र रानाबीच दोस्रो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो।

धमलालाई सहाब अलामले १७.३ ओभरको पहिलो बलमा आउट गरेपछि लगातार दुई विकेट लिँदै ह्याट्रिक गरे। सहावले सोनु तामाङलाई १ रन र सोमपाल कामीलाई शून्य रनमा आउट गर्दै ह्याट्रिक गरेका हुन्। राजेश पुलामी पनि शून्य रनमा आउट हुँदा राजु रिजालले नटआउट ११ रन र योगेन्द्रसिंह कार्कीले नटआउट ५ रन जोडे।
बलिङतर्फ सहाबले ३ विकेट लिए। किशोर महतो, सनी पटेल र रासिद खानले १–१ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।