काठमाडौं– हाँस्य कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेद्वारा संचालित धुर्मुस सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ। कट्टेलले बिहीबार सामाजिक सञ्जालमार्तफ अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेका हुन्।
अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको अनुरोध आएकाले निर्माण गर्ने घोषणा गरेको कट्टेलले जनाएका छन्। उनले ‘नमुना नेपाल’ निर्माण परियोजना र क्रिकेट मैदान निर्माण परियोजना अघि बढाउने बताएका छन्।
उनले लेखेका छन्,'हामी दुवै परियोजनालाई अगाडि बढाउने निर्णयमा पुगेका छौं। नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो। फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ। यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यहि समितिको रोहवरमा ईन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ ।'
उनले नयाँ नेपाल र क्रिकेट मैदान निर्माण परियोजना महत्वपूर्ण भएपनि कुन चाहिँ पहिले सुरु गर्ने विषयमा सुझाव मागेका छन्। उनले लेखेका छन्, 'हामी नेपालीका लागि दुवै परियोजना महत्वपूर्ण छन् नमुना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस कुन चाँही पहिला ?'
गत महिना नेपालले एकदिवसीय मान्यता पाएपछि अन्तर्राष्ट्रिय मैदान निर्माणका लागि सरकार र नीजि क्षेत्रमाथि समर्थकले दबाब दिइरहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।