एजेन्सी– बल टेम्परिङ काण्डमा दोषि ठहर हुँदै स्वदेश फर्किएपछि अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले भावुक हुँदै पत्रकार सम्मेलन गरेका छन्। बिहीबार सिड्नी एयरपोर्टमा पत्रकार सम्मेलनमार्फत स्मिथले माफि समेत मागेका छन्।
उनले भावुक हुँदै भने, 'कप्तान भएको नाताले घटनाको सम्पूर्ण जिम्मेवारी लिन्छु। मैले भयानक गल्ति गरेर राम्रो कप्तानी गर्न चुके।'
उनले गल्ति सच्चाउनका लागि जस्तोसुकै काम गर्न पनि तयार रहेको बताएका छन्। उनले भने, 'यो घटनापछि जिवनभर पछुतो लागिरहने मलाइ थाहा छ। म एकदमै निराश छु । केहि समयपछि मैले माफि र सम्मान पाउने विश्वास छ। क्रिकेट विश्वकै महान् खेल हो। यो मेरो जीवन हो र अब पनि हुने विश्वास छ।'
उनले यसअघि अस्ट्रेलियाका खेलाडीले बल टेम्परिङ नगरेको तथा घटनाबारे कसैलाई दोष नदिने पनि बताए।
क्रिकेट बल टेम्परिङ काण्डमा दोषी पाइएका अस्ट्रेलियन क्रिकेटरत्रय स्मिथ, डेभिन वार्नर र क्यामरन बेनक्रफ्ट बिहीबार स्वेदश फर्किएका हुन्।
दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टका दौरान ओपनिङ ब्याट्सम्यान क्यामरन बेनक्रफ्टले बल टेम्परिङ गरेका थिए। बलिङमा ‘स्विङ’ ल्याएर ब्याट्सम्यानलाई आउट गर्ने उद्देश्यका साथ पूर्वनियोजित रुपमा टेम्परिङ भएको खुलेपछि उनीहरुमाथि कारबाही गरिएको थियो।
स्मिथलाई र वार्नरलाई १–१ वर्ष तथा बेनक्रफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाइएको थियो। साथै स्मिथलाई २ वर्ष र वार्नरलाई आजिवन कप्तान बन्न पनि रोक लगाइएको थियो। अस्ट्रेलियन क्रिकेटले अनुसन्धानपछि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।