काठमाडौं– इन्डोनेसियाको जकार्तामा आयोजना हुने १८ औं एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा नेपालले पदकको आशा गरेको छ।
जकार्तामा १८ अगष्ट देखि सेप्टेम्बर २ सम्म आयोजना हुने प्रतियोगितामा नेपालले टिम विधा अन्तर्गत टिम एक्युरेसी तथा टिम क्रसकन्ट्री गरि दुई विधामा ५/५ गरि १० खेलाडीहरुले सहभागिता जनाउने तथा इन्डिभिज्युयल एक्युरेसीमा पनि यीनै १० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले जनाएका छन्।
सोही प्रतियोगितालाई मध्य नजर गर्दै केहिसमय अघि स्याङ्जामा आयोजना भएको एसियन कन्टिनेन्टल टुरमा छनोट भएका २१ खेलाडीहरु मध्येबाट टिम एक्युरेसी र टिम क्रसकन्ट्रीका लागि दोश्रो चरणमा १०/१० खेलाडीहरुको छनौट पोखरमा बुधबार सम्पन्न भएको छ। यीनै २० खेलाडीहरुबाट पर्फरमेन्सको आधारमा एसियाली खेलकुदको लागि ५/५ खेलाडीहरुको छनोट गरिने छ।
बुधबार छनोट हुन सफल खेलाडीहरुमा टिम क्रस कन्ट्रीतर्फ विशाल थापा, सुशील भट्टराइ, शेरबहादुर गुरुङ, विमल अधिकारी, विजय दाहाल, कृष्णबहादुर सुनुवार, आशिष थापा, निशिन थापा, सुरज थापा र अनिश भट्टराइ छन्। इन्डिभिजुअल एकुरेसी र टिम एकुरेसीतर्फ ऋषी पोडे, युवराज सुनुवार, मदनकुमार सुनुवार, सुवास थापा, अनिष भट्टराइ, युकेश गुरुङ, विजय गौतम, सबिन राना मगर र विशाल थापा छन्। ती मध्ये युकेश गुरुङ कान्छा खेलाडी हुन। १६ वर्षका युकेशले हाल एसइई (प्याराग्लाईडिङ पाईलट) परिक्षा समेत दिइरहेका छन्।
नेपाली खेलाडीहरुले टिम एक्युरेसी तर्फ पदक हात पार्ने नेपाल प्याराग्लाईडिङ्ग संघका महासचिव शैलेन्द्र राउतले बताए। उनले एसियामा टिम इभेन्टमा नेपाल भन्दा अगाडी जापान र कोरिया मात्र रहेकोले नेपालको पदक पक्क भएको बताए । 'विश्वमा पहिलो र दोश्रो स्थानमा ईटाली र फ्रान्स रहेका तथा नेपाल विश्वमा सातौ स्थानमा रहेको छ,' राउतले बताए । नेपालले यस अघि पनि इन्डोनेसियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रिमा पहिलो स्थान र चिनमा भएको प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भई सकेको संघले जनाएको छ। यसका साथै नेपालका ६ खेलाडीहरु विश्व वरियतामा टप टेन भित्र रहेका छन् । त्यसका आधारमा पनि नेपालले पदक हात पार्ने पक्का भएको शैलेन्द्रले बताए।
प्याराग्लाइडिङ खेलका प्रशिक्षक समेत रहेका सानुबाबु सुनुवारले एसियाडमा नेपालको तयारी पदकका लागि हुने बताए। उनले भने, “यसमा नेपालको सहभागिता मात्रै होइन हामी त्यहाँ पदकको लागि खेल्ने छौ ।” सुनुवार नेपालको टिम क्याप्टेन समेत हुन भने विश्व वरियतामा रहेका विमल अधिकारी पनि प्रशिक्षकको भुमिकामा रहने छन । ४५ देशले सहभागिता जनाउने एशियाली खेलमा प्याराग्लाइडिङ तर्फ ३० भन्दा वढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ ।
१९१९ मा नेपालमा व्यावसायिक रुपमा सुरु गरिएको प्याराग्लाइडिङलाई खेलकुदको रुपमा विकास गर्ने उद्धेश्यले २००८ जनवरी ३ मा राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय संघको रुपमा दर्ता गरिएको थियो। त्यस पश्चात नेपालमा यसको विकास अझै हुन पुगेको छ । विश्वमै नेपालको पोखरा प्याराग्लाइडिङको लागि दशौं उच्च स्थानमा पर्ने भएकाले खेलाडीहरुले राम्रो तालिम हासिल गर्नेछन्। नेपालमा हाल ५ सय खेलाडीहरु रहेकोमा २५० जना पूर्ण रुपमा ब्यावसायीक खेलाडीहरु रहेकाले पनि नेपालले एशियाली खेलकुदमा पदक हात पार्नेमा विश्वस्त रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।