काठमाडौं- अन्सु फाती फुटबल जगतमा छिटो चम्किए। जति उनी आफैले सोचेका थिएनन्। हुन त विश्वकै उत्कृष्ट मध्येको क्लब बार्सिलोनामा पाउने अवसरलाई यी किशोर खेलाडीले सहजै कसरी सोचुन्!
बलमा देखिने तीब्रता, बल अघि बढाउने गजवको शैली र गोलका लागि गर्ने प्रहार कुनैमा पनि फाती १७ वर्षका मात्रै लाग्दैनन्। बल आफ्नो नियन्त्रणमा रहँदा विश्वस्त देखिने फातीको आत्मविश्वास नै गजवको छ। उनले यही समयमा देखाएको फुटबल बुझाइले अबको दशक फुटबल जगतमा फातीको पर्खाइ चलिरहनेछ। जसरी गएको दशक क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको हरेक खेलमा भयो।
सन् २००९ को डिसेम्बरमा लियोनल मेस्सीले पहिलो बालोन डि’ओर जित्दा ७ वर्षका अन्सु फातीको फुटबल देखिने गरी बल्ल सुरु भएको थियो। अहिले उनै मेस्सीसँग पास मिलाउन फातीले एउटै मैदान पाएका छन्। मेस्सी अझै थाकिसकेका छैनन्, तर अबको समयमा फाती जस्ता केही युवा खेलाडीले नयाँ स्थान पक्कै बनाउने छन्।
अहिले उत्कृष्ट खेलमा रहेका पिएसजीबाट खेल्ने फ्रान्सका केलियन एमबाप्पे, एथ्लेटिको मड्रिडबाट खेल्ने पोर्चुगलका योआओ फेलिक्स, बोरुसिया डर्टमुन्डबाट खेल्ने इंग्ल्यान्डका जडन सान्चो, बायर लिभरकुसनबाट खेल्ने जर्मनीका के हाभेट्ज, रियल मड्रिडमा रहेका ब्राजिलका रोड्रिगो, भ्यालेन्सियामा रहेका स्पेनका फेरान टोरेस जस्ता खेलाडीसँगै आइरहेको नाम हो अन्सु फाती।
गिनी बिसाउमा जन्मिएका फाती आफ्नो बुबासँगै ६ वर्षको उमेरमा नै स्पेन गएका हुन्। उनी २०१० देखि दुई वर्ष सेभियाको युवा टिममा रहे। २०१२ मा बार्सिलोना ‘बी’ टिममा सामेल भएका उनले सानो उमेरमा नै आफ्नो क्षमता देखाउन सके। उनी गएको जुलाईदेखि बार्सिलोनासँग २०२२ सम्मको सम्झौतामा छन्। उनलाई अर्को क्लबले लैजान चाहे अहिले नै १ सय ७० मिलियन युरोभन्दा बढी तिर्नुपर्ने हुन्छ।
.jpg)
अन्सु फातीका बुबा बोरी फाती पनि पहिलेका फुटबल खेलाडी नै हुन्। साथै उनका दुई दाइहरु ब्राइमा र मिग्वेल पनि फुटबल खेलाडी हुन्।
फातीका बुबा स्पेन आउनुअघि कामको खोजीमा गिनि बिसाउबाट पोर्चुगल पुगेका थिए। जहाँ तल्लो डिभिजनका केही क्लबबाट उनले फुटबल पनि खेले। पोर्चुगलमा रहँदै सेभियामा आप्रवासीहरुका लागि राम्रो काम रहेको सुनेपछि उनी स्पेन पुगेका थिए। तर उनले कति समय त सेभिया नजिकैको मारिनालेडा सहरका फुटपाथमा मागेरसमेत जीविका गर्नुपरेको थियो।
त्यही बेला सहरका मेयरलाई भेटेका उनले ड्राइभरको जागिर पाए। ड्राइभरको जागिर पाएपछि नै उनी हेरेरा सहरमा राम्ररी बस्न सकेका थिए। हेरेरामा नै अन्सु फातीको बाल्यकाल बितेको हो। जहाँ केही वर्ष सिडिएफ हेरेरा फुटबल क्लबमा फातीले फुटबल सिक्न पाए। त्यही सिकाइले अहिले उनको फुटबल बार्सिलोनासम्म पुग्न सकेको छ।
अन्सु फातीको कथामा देखिने विनम्रता र धैर्यताले नै उनको नयाँ उचाइको बाटो कोरेको हो। जसमा उनी अघि बढीरहेका पनि छन्। सन् २०१२ मा १० वर्षको उमेरमा बार्सिलोना पुगेका फातीले यु११ को टिममा खेल्न पनि एक वर्ष पर्खिनुपरेको थियो। त्यस समय उनले पेलोटेरस एफसीमा अभ्यास खेलहरु खेलिरहे।
फातीलाई फुटबल सिकाएका सुरुका एक प्रशिक्षक मार्क सेरा पुराना दिन सम्झँदै भन्छन्– ‘उनी सेभियादेखि लामो दुरी तय गरेर खेल्न आइरहेका हुन्थे। खेलेर फर्किंदा आजको खेलमा राम्रो हुन नसकेको भन्दै माफी माग्थे र भोलि राम्रो गर्छु भनिरहेका हुन्थे। उनले त्यसबेला पठाएका केही म्यासेजहरु त मसँग अहिलेसम्म होला।’
त्यही सुधारको सोचले हुनुपर्छ फातीले बार्सिलोना सिनियर टिममा समेत आफूलाई प्रमाणित गर्न सकिरहेका छन्। इन्टर मिलानविरुद्ध गोल गर्दै च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका फातीले मेस्सीपछिको बार्सिलोनामा भविष्य देखाउनु सानो विषय होइन। मिलानविरुद्धको च्याम्पियन्स लिग खेलमा ८४ औं मिनेटमा मैदान प्रवेश गरेका उनले त्यसको तीन मिनेटमा गोल गरेका थिए।
बार्सिलोनाको सिनियर टिममा मात्रै होइन फातीका लागि वर्ष २०१९ स्पेनको यु२१ टिममा रहनुले पनि विशेष बन्यो। बार्सिलोनाको सिनियर टिममा अभ्यासमा आउँदादेखि नै फाती प्रशिक्षक एर्नेस्टो भालभर्देको नजरमा परेका थिए।
.jpg)
फातीलाई कुनै समयमा प्रशिक्षण गरेका प्रशिक्षक डेनिस सिल्भा पनि १६ वर्षको उमेरदेखि फातीले आफूमा गरेको खेलको विकास ठूलो कुरा भएको बताउँछन्। लियोनल मेस्सी, लुइस स्वारेज, उसमान डेम्बेले जस्ता खेलाडी घाइते रहेको अवस्थामा फातीले पाएको अवसर यसरी उपयोग गरे कि उनी सिनियर टिमको एक हिस्सा बनिरहन सके।
ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई ५–२ ले हराएको खेलमा १६ वर्षका फातीले बार्सिलोना सिनियर टिममा डेब्यू गरेका थिए।
फातीले रियल बेटिससँग खेल्नुअघि एक हप्ता सिनियर टिममा रहेर अभ्यास गरेका थिए। लियोनल मेस्सी, लुइस स्वारेज र उसमान डेम्बेले घाइते रहेको टिममा अन्तिम १२ मिनेट मैदानमा रहेका फातीले आफ्नो डेब्यू विश्वास नै गर्न सकेका थिएनन्।
सन् १९४१ मा भिसेन्ट मार्टिनेचपछि सबैभन्दा कम उमेरमा बार्सा डेब्यू गर्ने खेलाडीसमेत बनेका फातीले आफू नर्भस भएको खेलपछि बताए।
‘वास्तवमा म एकदमै नर्भस भएको थिएँ, बार्सामा डेब्यू गर्न पाउनु सानो कुरा होइन, यसका लागि सबैलाई धन्यबाद दिन चाहन्छु,’ खेलपछि उनले भनेका थिए, ‘एकछिन त विश्वास नै नभएर म मैदानमा नै बसेँ, अब अहिले त्यो अवसर सेलिब्रेसन गर्ने बेला आएको छ, मसँग धन्यबादका शब्दहरु मात्र छन्।’
.jpg)
तर, बार्सिलोना फातीलाई हतारमा अगाडि बढाउने योजनामा छैन। विस्तारै भएको विकास र हरेक हप्ता थोरै थोरै गर्दै पाएको अवसरले उनको फुटबलमा अझ सुधार हुनेछ भन्ने बार्सिलोनालाई थाहा छ। जसको फाइदा भविष्यसम्म फातीलाई नै हुनेछ।
यसैले बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेङलेट पनि फातीलाई सहज रुपमा अगाडि बढ्न दिनुपर्ने नै बताउँछन्। ‘उनलाई शान्त रुपमा बढ्न दिनुपर्छ। बार्सिलोनाका लागि खेल्ने काम धेरै गाह्रो छ। मानिसहरुका कुरा सुनेर अझ मेहनत गर्दै बढ्नुपर्नेछ’ उनले भने।
यो पनि पढ्नुहोस्- विश्व फुटबलमा दशक : रोनाल्डो र मेस्सी
(यो सामग्री बिबिसी, गार्जियन, एफसी बार्सिलोना र मार्कामा आधारित रहेर तयार पारिएको हो।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।