अभि लामिछाने (उदयपुर) - उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपमा रमपम झापा ११ फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा सहारा क्लब पोखरालाई २–० गोलले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो।
खेलको छैटौं मिनेटमै झापाका लागि सरोज कार्कीले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाए। ८६ मिनेटमा झापाका कप्तान कर्ण लिम्बुले अग्रता दोब्बर पारे। लिम्बुलाई आशिष चापागाईले सेन्टरबाट एक्लो प्रयासमा बललाई डिबक्स भित्र पुर्याएर पास दिएका थिए।
खेलको म्यान अफ द म्याच झापाका विकास थुलुँग भए । उनलाई कटारीका समाजसेवी चन्द्रबहादुर तामाङले नगद ५ हजार प्रदान गरे। बिहीबार दोस्रो सेमीफाईनलमा गोर्खाब्वाईज रुपन्देही र संकटाले फाईनलका प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
गोल्डकप विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५१ हजार रुपैयाँ हात पार्ने मूल आयोजक समितिका अध्यक्ष विनोद कटुवालले बताए । कटारी नगरपालिकाको सहकार्य र साथी समूहको संयोजनमा गोल्डकप आयोजना गरिएको हो । आगामी चैत्र १७ गते गोल्डकपको फाइनल खेल हुने आयोजक मुलसमारोह समितिले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।