जाकार्ता- इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ। अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।
दशौँ हजार स्थानीय बासिन्दा विस्थापित भएका छन् भने, उनीहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ। हजारौं मानिसको घर भत्किएका छन्।
बाढी पहिरो प्रभावित क्षेत्रमा घर, कारलगायतका भौतिक सामग्रीहरु पानी र माटोमा डुबेको तथा तैरिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
मृत्यु भएकामध्ये कम्तीमा २१ जनाको जाकार्तामा मात्रै मृत्यु भएको र अरु दुई जनाको छिमेकी जाभाको लेबाकमा मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन्।
‘अहिलेसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ,’ सामाजिक मामिला मन्त्री जुलियरी पिटर बाटुबाराले बिहीबार पत्रकारहरुसँग भने। उनले मृत्यु हुनेको सङ्ख्या अब नबढ्ने अपेक्षा पनि व्यक्त गरे।
लेबाकका स्थानीय उद्धारकर्ताहरुले पनि दुई जनाको मृत्यु भएको बताएका छन्। उनीहरुले अरु तीन जनाको पनि मृत्यु भएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जनाएका छन्।
जाकार्तामा एक जना आठ वर्षीय बालकदेखि ८२ वर्षीय वृद्धसम्मको मृत्यु भएको पिडितहरुले बताएका छन्।
‘वर्षा अत्यन्त छिटो भएको थियो, चाँडो चाँडो बढेर गएको थियो, हामी के गर्ने कसो गर्ने भन्ने नै निर्णय गर्न नसक्ने अवस्थामा पर्यौँ,’ एक महिलाले भनिन्।
जाकार्तामा यसअघि सन् २०१३ मा पनि विनाशकारी बाढी पहिरो आएको थियो। त्यतिबेला पनि दर्जनौंको मृत्यु भएको थियो। यस क्षेत्रमा बेला बेलामा बाढी पहिरो आइरहने गरेको अधिकारीहरुले बताएका छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।