एजेन्सी– अस्ट्रेलियन क्रिकेटद्वय स्टिभ स्मिथ र डेभिड वार्नरले इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न नपाउने भएका छन्। दुवैलाई अस्ट्रेलियन क्रिकेटले एक वर्ष खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि आइपिएल गुमाउने भएका हुन्।
स्टिभ राजस्थान रोयल्स र वार्नर सनराइजर्स हैदरावादमा आवद्ध थिए। दुवै खेलाडी टिमका कप्तान थिए। कप्तानबाट भने दुवै जनालाई यसअघि नै हटाइएको थियो। अब प्रतिबन्धसँगै उनीहरुले आइपिएल खेल्न नपाउने आइपिएल अध्यक्ष राजीव शुक्लाले बताएका छन्।
आइपिएल आगामी साताबाट सुरु हुँदैछ।
दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङ गरेको आरोपमा उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय भएको हो।
दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा अष्ट्रेलियाका खेलाडी क्यामरन बेनक्रफ्टले बल टेम्परीङ गरेका थिए। क्यामरनलाई भने ९ महिनाको प्रतबन्ध लगाइएको छ।
तीनै जनालाई दक्षिण अफ्रिकाबाट अस्ट्रेलिया घर फिर्ता पठाइएको छ।
बलिङमा ‘स्वीङ’ ल्याएर ब्याट्सम्यानलाई आउट गर्ने उद्देश्यका साथ पूर्वनियोजित रुपमा टेम्परिङ भएको खुलेपछि उनीहरुमाथि कारबाही गरिएको हो।
दक्षिण अफ्रिका विरुद्धको टेस्टका दौरान अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान क्यामरन बानक्रफ्टले बल कोट्याएर स्वरुप परिवर्तन गर्न खोजेको सार्वजनिक भएपछि स्मिथ र वार्नर कारबाहिमा परेका हुन्।
ओपनिङ ब्याट्सम्यान बानक्रफ्टले न्युल्यान्ड टेस्टका दौरान बल कोट्याएर स्वरुप बिगारेको टेलिभिजन स्क्रिनमार्फत प्रत्यक्ष रुपमा सार्वजनिक भएको थियो। खेलपछि स्मिथ र बानक्रफ्टले घटनाबारे प्रतिक्रिया दिँदै माफी मागेका थिए।
घटना दक्षिण अफ्रिका विरुद्धको टेस्टको तेस्रो दिन शनिबार भएको थियो। लगत्तै क्रिकेट अस्ट्रेलियाले स्मिथ र डेभिड वार्नर अस्ट्रेलियाको कप्तान र उपकप्तानबाट हटाइएको थियो।
बल कोट्याएर स्वरुप बिर्गादा ब्याट्सम्यानलाई खेल्न अप्ठ्यारो हुन्छ। खेल भावना विपरित बल टेम्परिङ गरेपछि अस्ट्रेलिया क्रिकेटरको विश्वभरबाट आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।