काठमाडौं– २०७३ कार्तिकमा नेपालले मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कप जितेको थियो। फाइनलमा मकाउलाई १–० गोलले पराजित गरेर नेपालले एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको प्रतियोगिता पहिलो पटक जित्दै इतिहास बनाएको थियो।
सोलिडारिटी कप जितेपछि नेपालले एएफसी एसिया कप २०१९ अन्तर्गत तेस्रो चरणको छनोट खेल्ने मौका पायो। दु:खको कुरा त्यसयता नेपालले खेलेका कुनै पनि औपचारिक खेल जितेको छैन।
सोलिडारिटी कपपछि नेपालले ६ खेल एसिया कप छनोटका र एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको छ। ७ मध्ये नेपालले ५ खेलमा हार र २ खेलमा बराबरी खेलेको छ। नेपालले ४ खेलमा गोल गर्न सकेन भने २ खेलमा ३ भन्दा बढी गोल खायो।
मंगलबार राति कतार भएको यमन विरुद्धको खेलमा २–१ गोलले पराजित भएपछि नेपालले लगातार सातौं खेल जीतिविहीन बन्यो। एसिया कप छनोटअन्तर्गत भएको खेल नेपालका लागि औपचारिकतामै सीमित थियो। खेलमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गरेका हुन्। सो गोल नेपालले ६ महिनापछि गरेको पहिलो अन्तर्राष्ट्रिय गोल हो।
यसअघि पछिल्लो गोल विमल घर्ती मगरले गरेका थिए। उनले एसिया कप छनोटअन्तर्गत नै ताजकिस्तान विरुद्ध गोल गरेका थिए। यद्यपी खेलमा नेपाल २–१ गोलले पराजित भएको थियो।
सोलिडारिटी कपपछि नेपालले मार्चमा एसिया कप छनोटअन्तर्गत फिलिपिन्ससँगको पहिलो खेल ४–१ ले हारेको थियो। खेलमा नेपालका लागि विशाल राईले गोल गरेका थिए। जुनमा नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्यो। मुम्बईमा भएको खेलमा नेपाल २–० ले पराजित भयो।
जुनमै एसिया कप छनोटको खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेर समूह 'एफ' मा अंकको खाता खोलेको थियो।
एसिया कप छनोटमा नेपालले ताजकिस्तानसँग एक महिनाको अन्तरमा दुई खेल खेल्यो। सेप्टेम्बरमा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाल २–१ ले पराजित भयो। खेलमा नेपालका तर्फबाट विमल घर्तीमगरले गोल गरेका थिए। एक महिनापछि अवे खेल खेल्न ताजकिस्तान पुगेको नेपाली टिम ३–० ले पराजित भयो। पराजयसँगै एसिया कप छनोटबाट नेपाल बाहिरिएको थियो।
एन्फा कम्प्लेक्समा भएको फिलिपिन्सविरुद्धको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपछि नेपाल एक वर्ष जितविहीन बन्न पुगेको थियो।

पछिल्ला अन्तर्राष्ट्रिय खेलमा जीत हात पार्न नसक्नुको मुख्य कारण नेपाली खेलाडीले पर्याप्त एक्सपोजर पाउन नसक्नु हो। विगत तीन वर्षदेखि लिग हुन नसक्दा खेलाडी पलायन हुने समस्या बढेको छ। मोफसलका प्रतियोगिताले नेपाली फुटबल धानिरहेको स्थिति छ।
एक वर्ष जितविहीन बन्नुको कारण प्राविधिक कारणमा नेपालले 'अट्याकिङ थर्ड’ मा विपक्षीलाई दबाब दिन नसक्नु हो। मिडफिल्डमा राम्रो बल खेलाए पनि विपक्षीलाई दबाब हुने गरी डिबक्समा पास उपलब्ध गराउन नेपाली खेलाडी चुकिरहेका छन्।
अर्को समस्या स्ट्राइकर पोजिसनमा बसेर खेल्न सकिरहेका छैनन्। स्ट्राइकरले राम्रोसँग संवाद गर्न नसक्दा मिडफिल्डबाट अगाडि बढेको केही बल त्यतिकै खेर जाने समस्या देखिएको छ।
डिफेन्डरले पटक–पटक गल्ति दोहोर्याउने समस्या पनि नेपाली टिममा छ। ताजकिस्तानविरुद्धको पहिलो लेग नेपालले डिफेन्डरकै गल्तिका कारण गुमाएको थियो।
अब सेप्टेम्बर २०१८ मा साफ च्याम्पियनसिपमा नेपालले खेल्ने तय छ। यो बाहेक अन्य खेल अहिलेसम्म तय छैन। यसर्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाहेक अन्य विकल्प नभएको नेपाल २०७४ मा जितबिहीन बन्ने पक्का छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।