अभी लामिछाने (उदयपुर) – चर्चब्वाइज युनाईटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै संकटा क्लब चौथो कटारी मेयर गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ।
निधारित समयको खेल २–२ गोलको बराबरी भएपछि संकटाले पेनाल्टी सुटआउट ४–१ को जित निकाल्यो।
खेलको ४६ औं मिनेटमा चर्चका भुवन वस्नेतले गोल गर्दै चर्चलाई अग्रता दिलाएका थिए। ६० औं मिनेटमा चर्चका नाइजेरियन खेलाडी साईला ईल्भाले संकटाका म्याक्सवेललाई लडाएपछि पाएको फ्रिकलाई डिबक्समा नियन्त्रणमा लिएर संकटाका टम्पी ईरनेटले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
६९ औं मिनेटमा भुषण सुब्बाले आकर्षक गोल गर्दै चर्चलाई फेरी अग्रता दिलाए। तर ९२ औं मिनेटमा टम्पीले नै अर्को गोल फर्काएपछि खेल बराबरीमा सकियो।
पेनाल्टी सुटआउटमा संकटाका अनिल गुरुङ्ग, प्रकाश बुढाथोकी, विश्व अधिकारी र सरोज विश्वकर्माले गोल गरे। चर्चका लागि विश्वास श्रेष्ठको प्रहार मात्रै गोलमा परिणत भयो । चर्चका रोशन पहाडीको पेनाल्टी संकटाका गोल रक्षक विनय श्रेष्ठले नियन्त्रणमा लिए, पाल्साङ्ग लामाको पेनाल्टी गोलपोष्टभन्दा माथिबाट बाहिरियो।
मंगलबारको खेलमा संकटाका टम्पी म्यान अफ द म्याच भए। उनले नगद ५ हजार रुपैयाँ पाए।
बुधबार पहिलो सेमिफाइनल खेल झापा ११ र सहारा क्लब पोखराबीच हुनेछ।
संकटाले विहिबार गोर्खाब्वाईज रुपन्देहीसँग प्रतिष्पर्धा गर्नेछ। ८ टिम सहभागी गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५१ हजार रुपैयाँ हात पार्ने मूल आयोजक समितिका अध्यक्ष दिवश कटुवालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।