एजेन्सी– आइपिएल टिम राजस्थान रोयल्सले अस्ट्रेलियन क्रिकेटर स्टेभिन स्मिथलाई कप्तानबाट हटाएको छ।
रोयल्सले नयाँ कप्तानको रुपमा अजिन्का राहणेलाई जिम्मेवारी दिएको छ। स्मिथलाई राजस्थानले ४ करोड भारुमा आवद्ध गरेको थियो। कप्तानबाट हटाएपनि उनले खेल्न भने पाउनेछन्। यद्यपी उनलाई क्रिकेट अस्ट्रेलियाले प्रतिबन्ध लगाए आइपिएल खेल्न पाउने छैनन्।
यसअघि बल टेम्परिङ (बल कोट्याएर स्वरुप बिगार्ने) काण्डमा मुछिएका तत्कालिन कप्तान स्टेभिन स्मिथलाई एक खेलको प्रतिबन्ध लगाइएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले उनलाई एक खेल प्रतिबन्ध र खेलको शतप्रतिशत म्याच फि जरिवाना गर्ने निर्णय गरेको हो।
दक्षिण अफ्रिका विरुद्धको टेस्टका दौरान अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान क्यामरन बानक्रफ्टले बल कोट्याएर स्वरुप परिवर्तन गर्न खोजेको सार्वजनिक भएपछि स्मिथ कारबाहिमा परेका हुन्।
ओपनिङ ब्याट्सम्यान बानक्रफ्टले न्युल्यान्ड टेस्टका दौरान बल कोट्याएर स्वरुप बिगारेको टेलिभिजन स्क्रिनमार्फत प्रत्यक्ष रुपमा सार्वजनिक भएको थियो। खेलपछि स्मिथ र बानक्रफ्टले घटनाबारे प्रतिक्रिया दिँदै माफी मागेका थिए।
घटना दक्षिण अफ्रिका विरुद्धको टेस्टको तेस्रो दिन शनिबार भएको थियो। लगत्तै क्रिकेट अस्ट्रेलियाले स्मिथ र डेभिड वार्नर अस्ट्रेलियाको कप्तान र उपकप्तानबाट हटाइएको थियो।
बल कोट्याएर स्वरुप बिर्गादा ब्याट्सम्यानलाई खेल्न अप्ठ्यारो हुन्छ। खेल भावना विपरित बल टेम्परिङ गरेपछि अस्ट्रेलिया क्रिकेटरको विश्वभरबाट आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।