बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक जग्गाको लगत संकलन कार्य सुरु गरेको छ।
सार्वजनिक जग्गा मिच्ने प्रवृत्ति बढिरहेका बेला नगरपालिकाले वडा नम्बर ३ बाट जग्गाको लगत संकलन र संरक्षण थालेको हो।
सार्वजनिक जग्गाको लगत संकलन कार्य क्रमशः सबै वडामा सञ्चालन गरिने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए। स्थानीय सरकार सञ्चालन ऐनले सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ।
आइतबार वडा नम्बर ३ को सीमानगर क्षेत्रमा सार्वजनिक जग्गाको नापजाँच गरिएको छ। यसरी नापजाँच गरिएका स्थानमा किला समेत गाडिएको वडाध्यक्ष टंकप्रसाद तिवारीले जानकारी दिए।
नापजाँच कार्यमा प्राविधिक टोलीसहित जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवा, प्रहरीहरु खटिएका छन्। नापजाँच सुरु गर्नुपूर्व जनप्रतिनिधिहरुले लगत संकलनको प्रक्रियाबारे स्थानीय बासिन्दालाई जानकारी गराएका थिए।
नापजाँचबाट सार्वजनिक जग्गा यकिन हुँदा समग्र नगरको विकासमा टेवा पुग्ने तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए। तिलोत्तमा नगरमा मुख्यगरी नदी उकास, खोला/खोल्सी, घोला, वन क्षेत्र आसपासमा सार्वजनिक जग्गा रहेको बताइन्छ। तथ्यांक संकलन नहुँदा नगरपालिकामा कहाँ कति सार्वजनिक जग्गा छ भन्ने यकिन हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।