भैरहवा– रुपन्देहीको ओमसतिया गाउँपालिकाले सामुदायिक विद्यालयमा अंग्रेजी माध्ययमबाट पढाइ सञ्चालन गर्ने तयारी गरेको छ।
गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा आउँदो शैक्षिक सत्रदेखि अंग्रेजी माध्ययमबाट पठनपाठन गर्नेगरी शिक्षा नीति पारित गर्न लागेको गाउँपालिका अध्यक्ष राहुल केवटले जानकारी दिए।
गाउँपालिकाको शैक्षिक स्तर माथि उठाउन तथा शिक्षा क्षेत्रमा देखापरेका असमानता हटाउन अंग्रेजी माध्ययमबाट पढाइ सुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाभित्र रहेको १६ वटा सामुदायिक विद्यालय र ४ वटा मदरसामा बालविकासदेखि कक्षा १ सम्म अंग्रेजी माध्ययमबाट पठनपाठन गरिने सोमबार आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइयो।
अब सरकारी विद्यालय तथा मदरसामा पनि संस्थागत (बोर्डिङ) स्कुलमा जस्तै बाल विकास, नर्सरी, एलकेजी, युकेजीको अध्ययन पूरा गरेपछि मात्रै कक्षा १ मा जान सक्ने नीति बनाउन लागिएको अध्यक्ष केवटले जानकारी दिए।
गाउँपालिकाले दुई वटा आधारभूत विद्यालयलाई मावि तह कक्षा नौसम्म सञ्चालन गर्ने, तीन वटा माविमा कक्षा ११ को पढाइ सुरु गर्ने लक्ष्य लिएको गाउँपालिका शिक्षा संयोजक हरिप्रसाद पोखरेल जानकारी दिए।
‘संस्थागत र सामुदायिक विद्यालयबीचको अध्ययनमा एकरुपता ल्याउन शिक्षा नीतिमै यसको व्यवस्था गर्न लागिएको छ’, पोखरेलले भने।
शिक्षा ऐन तथा नियमावली निर्माण कार्य सरोकारवालाहरुसँग बृहत् छलफल गरी अन्तिम रुप दिने तयारीमा रहेको भन्दै अध्यक्ष केवटले शिक्षा ऐन पारित हुनासाथ गाउँपालिकाभित्र दरबन्दी मिलान गरिने बताए।
अंग्रेजी माध्ययममा पठनपाठन सुरु गर्न गाउँपालिकामा झन्डै ६० जना नयाँ शिक्षक थप्नुपर्ने र त्यसका लागि वार्षिक डेढ करोड जति खर्च हुने अनुमान गाउँपालिकाले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।