राजविराज– माद्यमिक शिक्षा परीक्षा (एसइई) लाई अमर्यादित बनाएको आरोपमा सोमबार सिरहामा दुई जना निरीक्षक कारबाहीमा परेका छन्। उनीहरुलाई प्रहरी नियन्त्रणमा राखिएको छ।
परिक्षार्थीलाई चिट चोर्न सहयोग गरेको आरोपमा चन्द्रउदयपुर मावि परीक्षा केन्द्रबाट यमुना राउत र मावि सोनवर्षा केन्द्रबाट शैलेश यादवलाई पक्राउ गरिएको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए। दुवैलाई शिक्षा ऐन अनुसार कारबाही गरिने महतोले बताए।
सोमबार भएको अनिवार्य गणित विषयको परिक्षा शान्तिपूर्ण सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ।
यसअघि परीक्षा सुरु भएकै दिन (चैत ८ गते) अमर्यादित परीक्षा सञ्चालन गरेको भन्दै लहानस्थित पशुपति आदर्श मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्काशन गरिएको थियो। परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको आरोपमा ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका निरीक्षक गौरीनरायण यादवलाई पनि निष्काशनको कारबाही गरिएको थियो।
सिरहामा यस वर्ष ७६ सामुदायिक र ५७ संस्थागत गरी १३३ विद्यालयका कुल ९ हजार ८७७ जना एसइईमा सहभागी छन्। नियमिततर्फ ९ हजार २८४ र एक्जामटेडतर्फ ५९३ विद्यार्थीका लागि ३८ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
सप्तरीमा सोमबारको परीक्षा मर्यादित रुपमा सम्पन्न भएको शिक्षा अधिकारी दोलराज पाण्डेले जानकारी दिएका छन्। सप्तरीमा नियमिततर्फ ८ हजार ५ सय १४ र एक्जामटेडतर्फ १ हजार १३ गरी कुल ९ हजार ५ सय ९७ विद्यार्थी परीक्षामा सहभागी छन्। ७७ सामुदायिक, ४४ निजी र १ खुला गरी कुल १ सय २२ विद्यालयका विद्यार्थीको ३६ वटा केन्द्र मार्फत परीक्षा लिइँदै छ।
प्राविधिकतर्फ बोदे वरसाइन, कल्याणपुर, खुरहुरिया, बोरिया, कट्टी र फत्तेपुर गरी ६ वटा तथा एक्जामटैडतर्फका विद्यार्थीका लागि राजविराजस्थित राजदेवी र पवि मावि गरी २ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
परीक्षामा ३६ केन्द्राध्यक्ष, ४५ सहायक केन्द्राध्यक्ष, ४ सय १ निरीक्षक र २ सय १५ कार्यालय सहयोगी खटिएका छन् भने प्रत्येक केन्द्रमा १५ जनाका दरले कुल ५ सय ४० सुरक्षाकर्मी खटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।