काठमाडौं- परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विदेश मामिलामा परराष्ट्र मन्त्रालयको भनाइ आधिकारिक हुने भन्दै अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदबाट पारित हुने दाबी गरेका छन्।
‘विदेश मामिलाका सम्बन्धमा परराष्ट्र मन्त्रालयको भनाइ नै आधिकारिक हुन्छ,’ सोमबार परराष्ट्रमन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उनले भने, ‘सरकारले एमसिसीका विषयमा जुन प्रस्ताव लगेको छ त्यो संसदबाट पारित हुन्छ।’
आफ्नो पार्टीभित्र एमसिसीका विषयमा भएको विवादलाई लोकतान्त्रिक पार्टीभित्रको स्वभाविक ज्ञवालीले भने, ‘लोकतन्त्रका विविध विचारहरू आउँछन्।’
तर, ज्ञवालीले विदेश मामिलामा एउटै आवाज भए अरुलाई राम्रोसँग सुनाउन सकिने बताए। ‘विदेश मामिलामा एउटै आवाज भएमात्र हाम्रो आवाज राम्रोसँग सुनाउन सक्छौं,’ उनले भने, ‘ विवादित हुँदा हामी कमजोर हुन्छौं।’
‘सीमानालाई मित्रताको बाधक नबनाऔं’
मन्त्रीले सीमानालाई मित्रताको बाधक बनाउन नहुने बताएका छन्।
भारतले कालापानी क्षेत्र अतिक्रमण गरेको सम्बन्धमा पत्रकारहरुले सोधेको प्रश्नमा उनले सीमा विवादलाई लिएर भारतसँगको सम्बन्धमा तिक्तता ल्याउन नहुने बताए।
‘भारतसँगको सीमा विवाद आज उत्पन्न भएको होइन, यो इतिहासले बोकाएको जिम्मेवारी हो,’ उनले भने, ‘अहिले यो पुनर्जागृत भएको छ। सीमा विवाद सुझबुझ ढंगले समाधान गर्नुपर्छ। यसलाई मित्रताको बाधक बनाउनु हुँदैन।’
सीमा विवाद सुल्झाउन भारतले पनि तत्परता देखाएको भन्दै उनले यसलाई समाधान गर्नुको विकल्प दुवै देशसँग नरहेको बताए।
‘सीमा विवाद सुल्झाउन आधिकारिक रूपमा औपचारिक वार्ता दुई देशबीच अघि बढेन भने सडकमा क्रियाकलापहरू बढ्छन्,’ मन्त्री ज्ञावलीले भने, ‘हामी भारतसँग कालापानी क्षेत्रलगायतको सीमा विवाद सुल्झाउन बैठकका लागि नयाँ मिति तय गर्ने गृहकार्य गर्दैछौं।’
आफूहरुको कूटनीतिक नोटमा भारतले पठाएको पत्रले वार्ताका लागि बाटो खोलेको भन्दै उनले वार्ताको मिति तय गर्न पहल भइरहेको जानकारी दिए।
‘अहिले हामी वार्ताका लागि अर्को नयाँ डेटको गृहकार्य गरिरेहका छौं,’ उनले भने, ‘मलाई विश्वास छ यो समस्याको समाधान गर्न सकिन्छ र गर्नैपर्छ। अर्को कुनै बाटो छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।