विराटनगर– सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदीमा परीक्षण गरिएको जेट बोट आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको छ। धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकास गर्ने उदेश्यले मिनी जेट बोट सञ्चालनमा ल्याइएको हो।
३ करोड लागतमा भारतबाट खरिद गरी ल्याइएको बोट ३० यात्रु क्षमताको रहेको बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष सन्तोष भण्डारीले जानकारी दिए। । चतराबाट जलमार्ग हुँदै भोजपुर, धनकुटा तथा उदयपुर जिल्लाका विभिन्न स्थानमा जेट बोट सञ्चालनको तयारी छ। सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट धनकुटाको सिम्लेसम्म जाने पैदल यात्रुलाई बोटले सहजता दिने प्रालिका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठले बताएका छन्।
बराहक्षेत्रबाट करिब २० किलोमिटरको दुरीमा रहेको सिम्ले पुग्न करिब ५ घन्टा पैदल यात्रा गर्नुपर्छ। तर जेट बोट सञ्चालनमा आएपछि २० मिनेटमा पुग्न सकिने वडा नं १ का अध्यक्ष सुरेश श्रेष्ठले बताए।
जेट बोट सञ्चालनपछि सुनसरी, खोटाङ, भोजपुर, उदयपुर, सप्तरी लगायतका सर्वसाधारणहरु लाभान्वित हुने उनले जानकारी दिए। बोट सञ्चालनले धार्मिक क्षेत्रको प्रवर्द्धन, पर्यटनको विकास र आर्थिक समृद्धिमा टेवा पुग्ने उदयपुरको बेलका नगरपालिकाका मेयर स्वस्तिक थापाको भनाइ छ।
सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, उदयपुरको बेलका नगरपालिकाका मेयर स्वस्तिक थापा लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा आइतबार जेट बोटको परीक्षण सञ्चालन गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।