काठमाडौं– प्रहरीले मोरङको वेलबारी नगरपालिका– ५ कसेनी रामपुरबाट पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउपर्नेमा सुन्दरहरैचा नगरपालिका– १० बस्ने कृष्ण चौलागाई भन्ने ५० वर्षीय नरेश चौलागाई, विराटनगर महानगरपालिका– ८ बस्ने ३० वर्षीय क्षितिज पौडेल र पथरी शनिश्चरे नगरपालिका– ३ सिद्धार्थ टोल बस्ने ५६ वर्षीय चिरन्जिवी धिताल छन्। उनीहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली २ थान, सिमकार्ड १८ थान, मोबाइल ८ थान र विभिन्न पम्पेलट २ हजार १ सय थान बरामद गरेको छ।
उक्त स्थानमा हातहतियारसहित उनीहरुले चन्दा असुल गरी हिँडेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई सुनसरी–मोरङ आयोजनाको नहर छेउ केराघारीमा लुकाइ राखेको उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये चौलागाई २०७६ भदौ २१ गते इटहरी उपमहानगरपालिका–९ स्थित गोदावरी स्कुलको कम्पाउण्डमा र २०७६ भदौ २३ गते झापा विर्तामोड नगरपालिका–२ चारपाने चोकस्थित सहारा नेपाल सहकारी संस्थामा भएको बम बिष्फोटन घटनामा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङ जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।