ललितपुर- अघिल्ला वर्षमा सार्वजनिक स्थानमा फोहर फाल्दा कारबाही गर्ने नगर प्रहरीले यसवर्ष कारबाही अघि बढाउन सकेको छैन। नगर प्रहरीसँग साधन नहुँदा रातका समयमा काम गर्न नसकेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए।
नेपाल प्रहरीको सहकार्यमा अघिल्ला वर्षमा सार्वजनिक स्थानमा फोहर फाल्नेलाई कारबाही हुने गरेको थियो। सार्वजनिक स्थानमा दिनमा भन्दा रातको समयमा फोहर फाल्ने गरिएको छ। आवश्यक साधन नहुँदा नगर प्रहरीले रातका समयमा कारबाही गर्न सकेको छैन। 'प्रहरीले सक्रियता देखाउँदा मात्रै हामी काम गर्न सक्छौँ,' महर्जनले भने।
ललितपुरका गाबहाल, महापाल, मंगलबजार, लगनखेल बसपार्क, पाटन अस्पताल अगाडि, इटिलगायत स्थानमा जथाभावी फोहर फालेको पाइन्छ। नगर प्रहरीसँग फोहर फाल्ने व्यक्तिलाई जरिवानासहित कारबाही गर्ने अधिकार छ।
'नगर सफाइ राख्ने हाम्रो जिम्मेवारी भए पनि प्रहरीसँगको सहकार्य नभई हामीले मात्रै गर्न गाह्रो छ,' महर्जनले भने।
गत वर्ष नगर प्रहरीले फोहर फाल्ने ३ सय जनाभन्दा बढीलाई जरिवानासहित कारबाही गरेको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।