पोखरा- मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ।
मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपीन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
नेपाली मु्क्तकको विकास र लेखनका लागि महत्वपूर्ण योगदानको उच्च कदर गर्दै प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि रु २२ हजार २२२, ताम्रपत्र र दोसल्ला रहेको छ।
कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका तीन दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ (२०३५) पोखराकै पहिलो मुक्तक संग्रह हो। उनका हजार बुद्धहरु (२०६१) र प्रेमयात्रा (२०६७) मुक्तक संग्रह प्रकाशित छन् भने पागल बस्ती उपन्यासले २०४८ को मदन पुरस्कार प्राप्त गरेको थियो
मुक्तक पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली र रत्नशम्शेर थापा सम्मानित भइसकेका छन्। मञ्चद्वारा चैत २२ देखि २४ गतेसम्म पोखरामा आयोजना गरिने मुक्तक महोत्सव २०७४ अवसरमा उक्त पुरस्कार अर्पण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।