डडेल्धुरा- सुदूरपश्चिम प्रदेशमा छाउप्रथा हटाउन विभिन्न अभियानको सुरु भएकाे छ।
यसअघिका अभियानले सार्थकता नपाएपछि छाउप्रथा हटाउन स्थानीय प्रशासनले नै उर्दी जारी गरेका छन्। यसैगरी बाजुरामा देवताका धामीबाटै छाउप्रथा हटाउने प्रतिबद्धता आएकाे छ।
बाजुराको बडिमालिका नगरपालिका–७ रजातोलीका धामीले छाउपडी नमान्ने प्रतिबद्धता गरेका हुन्। नगरपालिका–७ मा आइतबार आयोजना गरिएको एक कार्यक्रममा छाउपडीका मुख्य गण मानिने देउताका धामी र गाउँका ठालुले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका हुन्।
छाउपडी न्यूनीकरणमा वडाको पहलमा छिट्टै छाउगोठ भत्काउने प्रतिबद्धतासहित गाउँका सबैले एकसाथ सो अभियानमा जुटेका हुन्। जिल्लामै सबैभन्दा बढी छाउगोठ भएको भन्ने समाचार आइरहेका बेला वडा कार्यालयको आयोजना तथा स्थानीयको सक्रियतामा अभियान चलाइएको वडाध्यक्ष धर्मराज पाध्यायले बताए।
सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ, डोटीलगायतका जिल्लामा महिला महिनावारी र सुत्केरी हुँदा सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम रहेको बेला बडिमालिका नगरपालिका– ७ ले सो अभियान सञ्चालन गरको वडाध्यक्ष पाध्यायको भनाइ छ। महिनावारी र सुत्केरी भएकाे बेला छाउगाेठमा बस्दै आएका महिलालाई अबदेखि घरमै बस्ने वातावरण मिलाउने र भएका सबै छाउगोठ भत्काउन लगाउने गाउँका धामी विजयराम पाध्यायले बताए।
सबैले छाउगोठ हटाइ सफा कोठामा बस्दा देउता पनि नलाग्ने र महिला पनि असुरक्षित नहुने भएकाले गाउँका सबै स्थानीयलाई छाउपडी प्रथा नमान्न सल्लाह दिइएको हाे। 'म आफैँ देउताको धामी छु। तर, तपाईँहरु कसैलाई घरमै छाउपडी बसालेकै भरमा देउता लाग्यो भने त्यसको जिम्मेवारी स्वयं म आफैँ धामीले लिने र कुनै घण्ट चढाउनु परे पनि म र वडा कार्यालयले जिम्मा लिनेछौँ,' धामी पाध्यायाले भने, 'तपाईँहरु ढुक्क भएर छाउगोठ भत्काएर घरमै बस्नुहोस्।'
छाउगोठ हटाउन डडेल्धुरा र डोटीमा उर्दी
डडेल्धुरा र डाेटीमा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयहरुले उर्दी जारी गरेका छन्। महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालयले उर्दी जारी गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र डोटीले सार्वजनिक सूचना प्रकाशित गरी जिल्लाका कुनै पनि स्थानमा छाउगोठ नराख्न भनेका छन्। जिल्लामा रहेका छाउगोठ हटाउन जिल्लाव्यापी अभियान चलाइएको कार्यालयले जनाएका छन्।
जिल्लाका ग्रामीण क्षेत्रमा अहिले पनि छाउ बार्ने तथा गोठ रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रशासनले छाउगोठ भत्काउन सबै स्थानीयतहलाई पत्राचारसमेत गरेका छन्। गृह मन्त्रालयले डडेल्धुरा र डोटीलगायत सुदूरपश्चिमका विभिन्न ठाउँमा रहेका छाउगोठलाई भत्काउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि जिल्ला प्रशासनले छाउगोठ राख्ने तथा छाउगोठमा बस्न बाध्य बनाउनेलाई कारवाही गर्ने भएका हुन्।
मुलुकी अपराधसंहिता, २०७४ ले परिभाषित गरेकाे सामाजिक विभेद र भेदभाव तथा अपमानजनक व्यवहारविरुद्धकाे कानूनी व्यवस्थासम्बन्धमा चेतनामूलक अभियान सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललले जानकारी दिए। जिल्लाका सबै स्थानीय तहहरूलाई आफ्नो स्थानीय तहमा सचेतनामूलक कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाइदिन प्रशासनले आग्रह गरेको छ।
छाउपडी प्रथालाई प्रसय दिने गरी कुनै पनि गतिविधि भएको पाइएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बामोजिम कारबाही गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिइसकिएको भन्दै त्यस प्रकारका गतिविधिहरू नगर्न/नगराउन समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।