इटहरी- इटहरी उपमहानगरले पहिलो पटक गर्भ जाँच गराउन आउने महिलालाई शुभकामना तथा बधाई कार्ड दिनेभएको छ।
उपमहानगरले तपाईं गर्भवती हुनुभएकोमा बधाई तथा शुभकामना लेखिएको कार्ड दिने भएको हो। कार्डको पछाडी पट्टि भने गर्भवती अवस्थामा के-के गर्नुपर्छ र के-के सावधानी अपनाउनुपर्छ भन्ने जानकारी उल्लेख गरिएको हुने छ।
यसैगरी विवाह दर्ता गर्न आउने दम्पतिलाई दाम्पत्य जीवनको शुभकामना उल्लेखित कार्ड दिइने उपमहानगरले जनाएकाे छ। कार्डको पछाडी सन्तानको चाहना राख्दा अपनाउनुपर्ने सावधानी र अपाङ्गता हुन नदिन के गर्नुपर्छ भन्ने जानकारी लेखिएको हुने छ।
इटहरीमा माघ १ गतेदेखि सुरु हुन लागेको तीन वर्षे अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत कार्ड दिइने भएको हो। उपमहानगरका अनुसार यो कार्यक्रम अन्तर्गत इटहरीका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक/एक वटा मोवाइल प्रदान गरिने छ। उनीहरुले प्रत्येक गर्भवतीको अनलाइन दर्ता गराउने छन्। सिस्टमलेनै गर्भ जाँच गराउने जानकारी दिने छ र महिला स्वयंसेविकाहरुले जाँच गराउन उत्प्रेरित गर्ने छन्।
सामाजिक विकास मन्त्रालय, इटहरी उपमहानगर र करुण फाउण्डेसनको त्रिपक्षीय लगानीमा सो कार्यक्रम संचालन हुने छ। इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र करुणा फाउण्डेसनका सहनिर्देशक योगेन्द्र गिरीले चार करोड ३६ लाख १४ हजार ७० रुपैयाँको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।