त्रिपोली- संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर) ले आइतबार लिबियामा सैन्य द्वन्द्वका कारण निम्तिएको खतराबाट सर्वसाधारणको रक्षाका लागि आग्रह गरेको छ।
‘लिवियाली नागरिक तथा आप्रवासी शरणार्थीलाई हिरासतमा दुर्व्यवहार भएको र आयोगको यस तथ्यप्रति ध्यानाकर्षण भएको जनाउँदै अन्तर्राष्ट्रिय मानवीय कानून र मानव अधिकारको सम्मान गर्न अनुरोध गर्छ,’ आयोगले एक विज्ञप्तिमा भनेको छ।
यूएनएचसीआर त्रिपोलीदेखि ४५ किलोमिटर टाढा जाविया सहरमा रहेको आन्तरिक शरणार्थी शिविरमा हालै भएको हवाई आक्रमणप्रति पनि चासो व्यक्त गरेको छ।
द्वन्द्व प्रभावित क्षेत्रबाट भागेर शरण लिन पुग्दा पक्राउ परेका सबै लिवियाली नागरिकलाई कानूनसम्मत तरिकाले रिहा गर्नसमेत यूएनएचसीआरले आग्रह गरेको छ। राष्ट्रसंघीय उक्त संस्थाले आवश्यकताअनुसार शहरी क्षेत्रमा रिहाईका लागि सहयोग गर्न आफू तयार रहेको जनाएको छ।
यूएनएचसीआरले लिबियामा पछिल्लो समय सर्वसाधारणको सुरक्षामाथि चुनौती खडा भएको र निर्दोष व्यक्तिहरू पनि पक्राउ परेका वा मारिएका भन्दै मानवीय सुरक्षामा संवेदनशील बन्न सरकारलाई आग्रह गरेको हो।
लिवियामा सामुद्रिक क्षेत्रबाट पक्राउ गरिएका आप्रवासीहरू समेतलाई राखिएकोले लिवियाली शिविरहरूमा क्षमताभन्दा बढी भीड रहेको छ।
लिवियामा गत अप्रिलदेखि भएका सैन्य कारबाहीमा हजारौं मानिस मारिएका छन् भने एक लाख २० हजार व्यक्ति बस्तीबाट विस्थापित बनेका छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।