वेलिङटन- फिजीमा आइतबार आएको भीषण आँधीका कारण दुई जनाको मृत्यु भएको छ। ‘सरै’ नाम दिइएको यस आँधीका कारण २५ सयभन्दा बढीलाई आश्रयस्थलको आवश्यकता परेको जनाइएको छ।
यस आँधीमा परेकाहरुलाई आपतकालीन आश्रयस्थलको आवश्यकता परेको अधिकारीहरुले जनाएका छन्। उक्त आँधीबाट घरहरु भत्किनुका साथै बालीनाली र रुखहरु ढलेका छन्। त्यसैगरी विद्युत सेवा अवरुद्ध भएको छ भने दर्जनौ उडान रद्द भएका छन्।
पर्यटकीय मौसमको बेला यस्तो घटना भएकाले धेरै पर्यटकहरु मर्कामा परेको अधिकारीहरुले जानकारी दिएका छन्।
राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिती साकोले १८ वर्षीय एक जना विद्यार्थीको काडाभुमा मृत्यु भएको बताए।
अर्का झण्डै ४० वर्षका व्यक्तिको पनि शव भेटिएको उनले जानकारी दिए। भिटीलेभु भन्ने ठाउँमा नदी तर्न लागेको बेलामा ती व्यक्तिको आँधीमा परी मृत्यु भएको अनुमान गरिएको निर्देशक भासितीको भनाइ छ।
आँधीका कारण अवरुद्ध भएको विद्युत सेवा सुचारु हुन अझै एक हप्ता लाग्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन्। सारै नामको आँधी प्रतिघण्टा १५० प्रतिकिलोमिटरको गतिमा आएको थियो। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।