मनिला- फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ। चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको हो।
हजारौ व्यक्ति अझै पनि शरणार्थी स्थलमा रहेको जनाइएको छ।
राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका प्रवक्ता मार्क तिम्बलले आँधीका कारण अझै पनि १२ जना हराइरहेको र उनीहरुको खोजी भइरहेको जानकारी दिए।
प्रतिघण्टा १ सय ९५ किलोमिटरको गतिमा आँधी आएको थियो। आँधीपछि फिलिपिन्समा विद्युत सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो। कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकरीहरुले जनाएका छन्।
त्यसैगरी सडक र विमानस्थलहरुमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै समय उडान सेवा र यातायात सेवा रद्द गरिएको थियो। खोजी उद्धारमा संलग्न अधिकारीका अनुसार फिलिपिन्सको मध्यभागमा पर्ने भिसायासमा आँधी आएको हो।
फिलिपिन्समा आँधी, भूकम्प र बाढीका कारण हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ। फिलिपिन्समा आएका आँधीमध्ये सबैभन्दा धेरै क्षति सन् २०१३ मा आएको आँधीले गराएको थियो। उक्त समयमा सात हजार ३ सय जनाको मृत्यु भएको थियो। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।