काठमाडौं– चैत्र १७ देखि सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को मोस्ट भ्यालुएवल खेलाडीले सुनको जुत्ता पाउने भएका छन्।
डिपिएलले आइतबार पत्रकार सम्मेलन गर्दै सुनको जुत्ता प्रदान गर्ने घोषणा गरेको हो।यसअघि घोषणा भएको प्लेयर अफ द सीरिजलाई मोटरसाइकल उपहार यथावत छ। मोस्ट भ्यालुएवल प्लेयरका विषयमा प्राविधिक समितिले निर्णय गर्नेछ। जुत्ताको प्रायोजन किरण सुजको म्यानुफ्याक्चरर्सको गोल्ड स्टार सुजले गर्ने भएको हो।
गोल्ड स्टार डिपिएलको फुटवेयर पार्टनरको रुपमा रहनेछ । गोल्डस्टारले डीपीएललाई प्रायोजन गरे बापत १६ लाख नगद रुपैयाँ सहयोग गर्ने भएको छ। जसमा ९ लाख नगद र बाँकी अन्य सहयोगका रुपमा रहनेछ।
डिपिएलमा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता छ। उद्घाटन खेलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ। १५ दिन चल्ने प्रतियोगिताको लिग चरणमा १५ खेलसहित १९ खेल हुनेछन्।
प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछन्। यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।