गाईघाट- इलाका वन कार्यालय कटारीका उपसचिव नारायण श्रेष्ठमाथि दुर्व्यवहार र कुटपिट गरिएको छ।
बाटो खन्न प्रयोग गरिएको स्काभेटर र डोजरका अपरेटरलाई पक्राउ गरेको आरोपमा श्रेष्ठमाथि दुर्व्यवहार गरिएको हो। कटारी नगरपालिका–१ स्थित राष्ट्रिय वनक्षेत्रमा स्काभेटर र डोजर प्रयोग गरेर जथाभावी बाटो खनेको भन्दै श्रेष्ठसहित वन कर्मचारीको टोलीले शनिबार अपरेटर तुलसी बुढाथोकी र काशीराज कटुवाललाई पक्राउ गरेको थियो।
नगरपालिकाको निर्णय अनुसार सडक निर्माण सुरु गरिएकाले अपरेटर पक्राउ गर्नुको कारणबारे जानकारी लिन वन कार्यालयमा पुगेको समूहले उपसचिव श्रेष्ठलाई कुटपिट तथा दुर्व्यवहार गरेको एक कर्मचारीले बताए।
उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य सुरेशकुमार राई, प्रदेशसभा सदस्य कला घले, नगपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठसहित जनप्रतिनिधिहरुकै बीचमा श्रेष्ठमाथि दुव्र्यवहार गरिएको उनले बताए।
जनप्रतिनिधिहरुसहित दुई दर्जनभन्दा बढीको संख्यामा आएको व्यक्तिहरुले उनलाई लछारपछार पारेको जनाइएको छ। घटनापछि उपसचिव श्रेष्ठ कटारी छाडेर सदरमुकाम गाईघाट पुगेका छन्।
कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले विकासमा अवरोध गरेको र कर्मचारीको रवाफ देखाएकाले जनताले कारबाही गरेको बताउँदै हातपात गरेको विषयमा आफूलाई जानकारी नभएको बताए।
पक्राउ परेका दुवै अपरेटरलाई इलाका वन कार्यालय कटारीले जिल्ला वन कार्यालय पठाएको छ। उनीहरु वन कार्यालयको हिरासतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।