राजविराज– नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेसवादका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंहको ८९औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ।
मधेसकेन्द्रित दलका नेता, प्रदेशका मन्त्री र सांसदहरुले आइतबार बिहान राजविराजस्थित गजेन्द्र चौकमा रहेको सिंहको सालिकमा माल्यार्पण गरे। पदेश २ का सामाजिक विकास मन्त्री तथा राजपाका उपाध्यक्ष नवलकिशोर साह, प्रदेशसभा सदस्य चन्द्रकान्त चौधरी, विदेश्वर यादव, राजपाका उपाध्यक्ष तथा पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादवका साथै केन्द्रीय सदस्यहरु तथा स्थानीय स्तरका नेता÷कार्यकर्ता माल्यार्पणमा सहभागी भए।
सोही अवसरमा राजपाले राजविराजमा गाउँदेखि संघीय संसदसम्मका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ। राजपा सप्तरीको अध्यक्ष मण्डलका सदस्य सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपाबाट निर्वाचित जिल्लाभरिका जनप्रतिनिधिको उपस्थिति थियो।
यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव तथा मधेसवादी नेता विनोद यादवले सिंहको जन्मजयन्तीका अवसरमा राजविराजमा लड्डु बाँडेका छन्।
गजेन्द्रनारायण सिंहले २०४७ सालमा सदभावना परिषद् हुँदै नेपाल सदभावना पार्टीको गठन गरेका थिए। उनी १९९८ सालमा रामनवमीको दिन जन्मिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।