काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। आइतबार बिहान बालुवाटारमा बसेकाे सचिवालय बैठक एजेन्डामै प्रवेश नगरी सकिएको हो।
नेकपा महासचिव विष्णु पौडेलले समय अभावले बैठक विषयमा प्रवेश गर्न नपाएको बताए। ‘समय अभावले आजको बैठकमा विषयमा प्रवेश गर्न पाएनौं,’ पौडेलले बैठकबारे जानकारी गराउँदै भने, ‘अर्को बैठक चाँडै बस्छ।’ सभामुख चयन, राष्ट्रियसभा निर्वाचनलगायतका विषय बैठकको एजेन्डामा रहेकाे उनले जानकारी दिए।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश न. ३ को राजधानी र नाम टुंगो लगाउने विषय पनि बैठकको एजेन्डामा थियाे। गोरखा भएका कारण उनी आजको बैठकमा अनुपस्थित थिए।
सभामुख को हुने? भन्ने टुङ्गो नहुँदा पुस १६ गते बस्ने गरी प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको थियो।
निवर्तमान सभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको प्रयास आरोपमा पुर्पक्षका लागि थुनामा गएपछि सभामुख पद रिक्त छ। उक्त पदमा हालसम्म पूर्वसभामुख सुवास नेम्वाङ र अग्नी सापकोटा प्रमुख दावेदारका रुपमा देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।